भाईरल पोष्ट, ईश्वरपुर ।। वडाभित्रका सबै बालबालिका विद्यालय भर्ना भएपछि सर्लाहीको ईश्वरपुर नगरपालिका ४ लाई ‘सतप्रतिशत बालबालिका विद्यालय भर्ना’ घोषणा गरिएको छ ।
४ वर्षदेखि १२ वर्षसम्मका सबै बालबालिका विद्यालय भर्ना गरिएपछि सो वडालाई मधेश प्रदेशकै पहिलो सतप्रतिशत बालबालिका विद्यालय भर्ना वडा घोषणा गरिएको हो । नगरपालिका, वडा कार्यालय, सेभ द चिड्रेन र ग्रामीण नारी उत्थान संघबीच समन्वय गरी विद्यालय बाहिर रहेकालाई विद्यालय भर्ना गराई वडाभित्रका सबै बालबालिका विद्यालय भर्ना भएको भनी शुक्रबार औपचारिक घोषणा गरिएको वडा कार्यालयले जनाएको छ ।
देशका सात प्रदेशमध्ये मधेश प्रदेशका हालसम्म कुनै पनि जिल्ला साक्षर घोषणा हुन सकेको छैन । ईश्वरपुर ४ का सबै ४ वर्षदेखि १२ वर्षसम्मका ५५३ जना बालबालिका विद्यालय भर्ना भएका छन् । तीमध्ये ४३९ जना बालबालिका सामुदायिक तथा निजी विद्यालय र ८८ जना बालबालिका अन्यत्र गएर पढिरहेका छन् ।
ग्रामीण नारी उत्थान संघ हरिपुरका उपाध्यक्ष विष्णु चालिसेले वडाका प्रत्येक घरधुरीमा पुगी सर्वेक्षण गरेर विद्यालय जान बाँकी रहेका र बीचमा पढाई छाडेका सबै बालबालिकालाई विद्यालय भर्ना गराइएको बताउनुभयो ।
वडाका वडाध्यक्ष प्रेमकुमार थिङको अध्यक्षतामा भएको सतप्रतिसत बालबालिका विद्यालय भर्ना भएको घोषणा कार्यक्रमका प्रमुख अतिथि मेयर मनोजकुमार आचार्यले नगरका बाँकी १४ वटा वडालाई पनि यसैगरी सबै बालबालिकालाई विद्यालय भर्ना गरी घोषणा समारोह गर्ने र उनीहरुले पढ्न पाउने अधिकार सुनिश्चित गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।