भाईरल पोष्ट, मलंगवा ।। खानेपानी, सरसफाई र स्वच्छता व्यवहार परिर्वतनमा संचारकर्मीको भूमिका विषयक अभिमुखिकरण कार्यक्रम सर्लाहीको मलंगवामा सम्पन्न भएको छ । सो क्रममा खानेपानी, सरसफाई र स्वच्छता व्यवहार परिवर्तनका लागि संचारकर्मीहरुसँग सहकार्यको आवश्यकता रहेको निष्कर्ष निकालिएको छ ।
अस्ट्रेलियन एड, वाटर फर वुमेन, एसएनभी नेपाल, ग्रामीण नारी उत्थान संघ हरिपुर र नेटीजेन मिडियाको साझेदारीमा जिल्लामा क्रियाशील पत्रकारहरुको लागि अभिमुखिकरण कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा सरसफाईको विषयमा कलम चलाउने एक दर्जनबढी पत्रकारहरुको सहभागिता रहेको थियो । अभिमुखिकरणका क्रममा पत्रकारहरुले जिल्लालाई खुल्ला दिशामुक्त क्षेत्र घोषणामा पनि जिल्लाका पत्रकारहरुले उल्लेख्य भूमिका खेलेको स्मरण गराउँदै खानेपानी, सरसफाई र स्वच्छता व्यवहार परिर्वतनमा पनि स्थानीय सरकार र सरोकारवाला निकायहरुले संचारकर्मीहरुसँग सहकार्य गर्नुपर्ने निष्कर्ष निकालेका हुन् ।
अभिमुखिकरणका क्रममा नेपाल पत्रकार महासंघ मधेश प्रदेशका कोषाध्यक्ष विश्वनाथ ठाकुर, मिडिया काउन्सिल मधेश प्रदेश सदस्य बन्दना झा, सामुदायिक रेडियो पसारक संघ मधेश प्रदेश अध्यक्ष मनोज यादव, नेपाल पत्रकार महासंघ सर्लाहीका सचिव सुनिल ठाकुर, कान्तिपुर दैनिकका ओम प्रकाश ठाकुर, लोकतन्त्र दैनिकका बख्तियार अली, भाईरल पोष्ट अनलाईनका सोम दियाली लगायतका सहभागि पत्रकारहरुले जिल्लामा सरसफाईको अवस्था, महिनाबारी स्वच्छताको अवस्था र सुरक्षित खानेपानीको अवस्थाको बारेमा धारणा राख्नुभएको थियो ।
अभिमुखिकरण कार्यक्रमलाई वरिष्ठ पत्रकार एवम् सरसफाई विज्ञ भरत अधिकारी र नेटीजेन मिडियाका तर्फबाट ओप प्रकाश घिमिरेले सहजीकरण गर्नुभएको थियो । त्यस्तै एसएनभी नेपालकी सर्लाही जिल्ला कोअर्डिनेटर अम्बिका यादव, एसएनभी नेपालकै शोभा क्षेत्री र रत्न बहादुर बुढाथोकीले जिल्लामा खानेपानी र सरसफाईको अवस्थाको बारेमा जानकारी दिनुभएको थियो ।
साबुन पानीले हात धुँदा हुने फाईदा, महिनावारी स्वच्छता सम्बन्धी जानकारी र सुरक्षित खानेपानीको फाईदा यी तीन विषयमा पत्रकारहरुलाई अभिमुखिकरण गरिएको थियो । यिनै विषयमा संचारकर्मीहरुले समाचार बनाएर खानेपानी, सरसफाई र स्वच्छता व्यवहार परिर्वतनमा भूमिका खेल्न सक्नेमा जोड दिइएको थियो ।
विश्वमा हरेक वर्ष दुषित पानीकै कारण लाखौं मानिसले ज्यान गुमाउने गरेका छन् । दिगो विकासको लक्ष्य अनुरुप सन् २०३० सम्ममा नेपाल सरकारले पनि हरेक नेपालीलाई सुरक्षित पिउने पानी उपलब्ध गराउने उदेश्य राखेको छ । सोही अनुरुप तिनै तहको सरकार, सरोकारवाला निकाय र खानेपानी तथा सरसफाईको क्षेत्रमा काम गर्ने संघसंस्थाले पनि दिगो विकासको लक्ष्य हासिल गर्ने गरी काम गरिरहेका छन् ।