भाइरल पोष्ट, काठमाण्डौ ।। नख्खु कारागार प्रशासनले कारागारभित्र अवैध धन्दा गरी करोडौं अकुत सम्पति जोडेको आरोप लागेका लागू औषध मुद्धामा जेलमा रहेका कैदी सन्तोष गुरुङ्गलाई कैदीहरुको नाईके बनाइएको छ ।
कारागार प्रशासनलाई घुस दिएर जेलभित्रै जुवातास खेलाउने, कैदी बन्दीहरुमाथि कुटपिट गर्ने, जेलभित्र बदमासी गर्ने र डर, धाक धम्की दिएर कैदीहरुबाट अवैध रकम असुल्र्दै करोडौं सम्पति जोडेको भन्दै छानविनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उनीविरुद्ध उजुरी परेको भएपनि दण्डित गर्नुपर्ने व्यक्तिलाई उल्टै पुरस्कृत गरेको कैदीबन्दी स्रोतले बताएको छ ।

तर कारागार प्रशासनले भने आफूहरुले छानविन गर्दा कैदी सन्तोष गुरुङ्गमाथि कुनै त्यस्तो कमजोरी नभेटिएको बताएको छ । कारागारका जेलर सुवास कुमार लामिछानेले कसैले व्यक्तिगत रिसिईविका कारण उनीविरुद्ध उजुरी दिएको हुन सक्ने बताउनुभयो । उनीविरुद्ध अख्तियारमा उजुरी परेको भन्ने कारागार प्रशासनलाई थाहा नभएको उहाँले दाबी गर्नुभयो । उहाँले कैदी सन्तोषमाथि लागेको कुनै पनि आरोपहरु पुष्टी भए कार्वाही भोग्न ऊ तयार छ भन्नुभयो । उहाँले उनीमाथि अख्तियारमा उजुरी परेको छ अथवा अभियोग लागेको भन्दैमा नाईके बनाउनै नमिल्ने भन्ने कुरा नहुने बताउनुभयो । उता घटनाका विषयमा बुझ्न खोज्दा कारागार विभागका प्रमुखको भने फोन उठेन ।
कैदी सन्तोष गुरुङ्गले भने आफू गृहमन्त्रीको मान्छे भएकोले उजुरी हाल्दैमा केही नहुने धम्की दिएको कैदीबन्दी स्रोतको दाबी छ । ‘म गृहमन्त्रीको मान्छे हुँ । उजुरी हाल्दैमा केही हुँदैन । जेलरलाई मैले नै सरुवा गराएर ल्याएको हुँ । जाबो अख्तियार र कारागार विभागलाई त पैसा दिएपछि यस्तो उजुरी मिलिहाल्छ नि ।’ कैदी सन्तोषको भनाई उदृत गर्दै एक कैदीले भने ।
ती कैदीले भने अनुसार कैदी सन्तोष गुरुङ्ग गुण्डा नाईके समीरमान सिंह बस्नेतको लागि काम गर्ने गुण्डा हो । उनी ज्यान मार्ने उद्योग, अपहरण, चोरी, लागूऔषध मुद्धामा अहिले कैद भुक्तान गरिरहेका छन् । यस्तो व्यक्ति कसरी जेल प्रशासन चलाउन पुग्यो भन्ने कुरा रहस्यमय भएको ती कैदीको भनाई छ ।



कैदीबन्दी स्रोतका अनुसार कैदी सन्तोषमाथि कुनै छानविन नै नगरी पुनः नाईके नियुक्त गर्नुले कारागार प्रशासन पनि आर्थिक प्रलोभनमा पर्ने गरेको तथ्य समेत पुष्टी भएको छ । गुरुङ्गले चार वर्षदेखि सोही कारागारमा प्रशासन चलाउँदै आएका छन् । उनले कारागार प्रशासनलाई नै घुस खुवाई प्रलोभनमा पारी प्रत्येक वर्ष नाईके हुने र कारागार भित्र जुवातास खेलाउने गरेका छन् । उनले कारागारका नाईकेहरुसँग रकम असुल्ने गरेका छन् । त्यस्तै उनले नयाँ आएका कैदीहरुसँग समेत उनीहरुको हैसियत हेरी विभिन्न प्रलोभनमा पारी १० हजार देखि लाख सम्म रकम असुल्ने गरेका छन् । त्यस्तै उनले नयाँ आएका कैदीहरुसँग समेत उनीहरुको हैसियत हेरी विभिन्न प्रलोभनमा पारी १० हजार देखि लाख सम्म रकम लिने गरेको उजुरीमा उल्लेख छ । त्यस्तै सन्तोषले जेलरलाई मासिक २ लाख, सहायक जेलरलाई ६० हजार, कारागार व्यवस्थापन विभागको बन्दी प्रशासनका अधिकृतलाई मासिक २० हजार रुपैया दिने गरेका छन् । उनले काँग्रेसका केही नेताहरुको नाम लिँदै कैदी र कारागार प्रशासनसँग बार्गेनिङ्ग गर्ने गरेको समेत उजुरीमा उल्लेख छ ।
उजुरीकर्ताले सुरक्षाका कारण आफ्नो नाम गोप्य राख्दै असार २४ गते कैदी सन्तोषको सम्पति छानविन गर्न माग गर्दै उजुरी दायर गरेको छ । सि ०५०६७० नम्बरमा दर्ताभएको उजुरी उपर अख्तियारले पनि कुनै कार्वाही अघि बढाए न बढाएको जानकारी छैन । उजुरीमा कैदी नाईके सन्तोष गुरुङ्गले कारागारभित्र बाटै हैसियतभन्दा बढी अकुत रकम कमाएकोले उनीमाथि आवश्यक छानविन गरी कार्वाही गर्न माग गरेका छन् ।
उजुरीमा भनिएको छ, ‘निजको पुर्खौली घर नुवाकोट हो, उनको वुवाको निधन भई सकेको अवस्था छ । पुर्खौली सम्पति १ रोपनी जग्गा मात्रै भएको व्यक्ति हुन् उनी । उनको हाल दुई ओटी श्रीमती छन् । उनले गत वैशाखमा कान्छी श्रीमती उर्मिला गुरुङ्गको नाममा टोखामा २ करोड ३५ लाखमा १२ आना जग्गा जोडेका छन् । त्यस्तै जेठी श्रीमती विनीता थापाको नाममा २०७७ साल असोजमा सामाखुशि चोकमा ६ आना जग्गामा बनेको घर किनेका छन् ।’, उजुरीमा भनिएको छ ।
त्यस्तै गुरुङ्गले श्रीमतीको नाममा काठमाण्डौंका एभेरेष्ट बैंक, ग्लोबल आईएमई बैक लगायतका बैंकमा रकम जम्मा गरेका छन् । त्यस्तै गुरुङ्गले जेलबाटै पैसा पठाई सानीमा हाईड्रो पावर, कृषि विकास बैंक र एसओएस कम्पनीमा लगानी समेत गरेका छन् । गुरुङ्गलाई यी सबै काममा १० वर्षदेखि कारागारमा तरकारी सप्लाई गर्दै आएका अमीरराज थापाले सघाउने गरेको पनि उजुरीमा खुलाईएको छ ।
थापा र गुरुङ्गले हालसालै श्रीमतीहरुको संयुक्त नाममा बुढानिलकण्ड नपा ४ मा कित्ता नम्बर ३०१ रहेको ६ आना २ दाम जग्गा किनेका छन् ।