सोम दियाली, हरिवन ।। नेकपा माओवादी केन्द्र हरिवनको विवाद चरम उत्कर्षमा पुगेको छ । साउन ४ गते नगरकमिटिका सचिवालय सदस्य फडिन्द्र अधिकारीले ६५ सदस्यीय समानान्तर नगरकमिटी गठन गरेपछि माओवादी केन्द्र हरिवनको विवाद सतहमा आएको थियो ।
समानान्तर कमिटी गठनको विषयलाई लिएर नगरकमिटीका अध्यक्ष अर्जुन पन्तले सचिवालय सदस्य अधिकारीलाई ३ दिने स्पष्टीकरण सोध्नुभएको थियो । अधिकारीले दिएको जवाफ चित्तबुझ्दो नभएको भन्दै नगरकमिटीले अधिकारीलाई एक वर्षको लागि सचिवालय सदस्यबाट निष्कासन गर्दै साधारण सदस्यबाट समेत निलम्बन गरेको थियो ।
आफूलाई कार्वाही गरेको जानकारी पाउने बित्तिकै समानान्तर कमिटीका संयोजक अधिकारीले पनि नगरकमिटीका अध्यक्ष पन्त, सचिव गौरी महतो र सहसचिव विवेक मैनालीलाई उल्टै कार्वाही गरेको छ । समानान्तर कमिटीले नगरअध्यक्षसहित तीन जनालाई पार्टीको विधान २०७८ को धारा ५६ अनुसार एक वर्ष पार्टी सदस्यबाट निलम्बन गरेको जनाएको छ ।
समानान्तर कमिटीका संयोजक अधिकारीले जारी गर्नुभएको विज्ञप्ती अनुसार उल्टै नगरकमिटीका अध्यक्ष पन्तले माओवादी केन्द्रका नेता तथा कार्यकर्ताहरुमाथि भ्रम पैदा गर्दै पार्टीको लेटरप्याड र छाप बारम्बार दुरुपयोग गरेको आरोप लगाइएको छ ।
हरिवन नगर कमिटीका संयोजक फडिन्द्र अधिकारीमाथि गम्भीर आरोप लगाउँदै कार्यकर्ताहरुमाथि निराशापन छाउने गतिविधि गरेकाले र पार्टीलाई बद्नाम गर्ने नियोजित षड्यन्त्रमा सामेल भई हरिवन नगर समिति अध्यक्ष अर्जुन पन्त, सचिव भनि चिनाउँदै हिड्ने गौरी महतो र सहसचिव हुँ भनी चिनाउँदै हिड्ने विवेक मैनाली गलत गतिविधि गरेको उल्टै आरोप लगाइएको छ ।
संयोजक अधिकारीले साउन ७ गते अध्यक्ष प्रचण्डले सम्बोधन गर्ने जनसभामा पनि असहयोग पु¥याउन खोजेको र पार्टीलाई क्षति हुने खालको कार्य यी तीन जना व्यक्तिबाट भएको भन्दै पार्टीको विधान २०७८ को धारा ५६ अनुसार अनुसाशनको कार्वाही गरिएको विज्ञप्तीमा उल्लेख गर्नुभएको छ ।
उहाँले गलत गतिविधि बन्द गर्दै सच्चिएर आफूले गरेको गल्तीलाई आत्मालोचना गरी भदौ १५ गते हुने नगर सम्मेलनमा सहभागि भए पुनरविचार गरी उचित जिम्मेवार दिन सकिने पनि विज्ञप्तीमा उल्लेख गर्नुभएको छ ।
समानान्तर कमिटीले नगर अध्यक्ष पन्त, सविच महतो र सहसचिव मैनालीलाई कार्वाही गरिएको बोधार्थ केन्द्रीय कार्यालय, केन्द्रीय संगठन विभाग, मधेश प्रदेश समिति र जिल्ला समितिलाई समेत पठाएको जनाउँदै आफूहरु नै आधिकारीक नगर कमिटी भएको दाबी गरेको छ ।