राज कुमार मोक्तान, गौशाला ।। महोत्तरीमा अवैध उत्खनन्मा संलग्न क्रसर बचाउन प्रहरी नै लागेको पाइएको छ । महोत्तरीको गौशला नगरपालिका १२ स्थित बाँके खोलामा अवैध उत्खनन् गरिरहेको स्काभेटर र टिपरलाई स्थानीय र गौशाला नगरपालिकाका नगरप्रहरीले पक्राउ गरेपछि छोडाउन प्रहरी नै लागेको त्यहाँका स्थानीयले बताएका छन् ।
स्थानीयले शुक्रबार विहान ९ बजेतिर अवैध नदी उत्खनन्मा संलग्न बालाजी क्रसर उद्योगको प्रदेश २–०३–००१क १२०० र २–०३–००१क १४७५ नम्बरको स्काभेटर र ५०३४ नम्बरको स्काभेटरलाई नियन्त्रणमा लिएका थिए । नियन्त्रणमा लिइएका टिपर र स्काभेटरलाई आवश्यक कार्वाहीको लागि नगरपालिकातर्फ लैजाने क्रममा ईलाका प्रहरी कार्यालय गौशालाका प्रहरीको टोलीले रोकेको स्थानीयले बताएका छन् । प्रहरीले नै रोकेपछि नियन्त्रण गरिएका स्काभेटर र टिपर कान्तिबजार स्थित प्रहरी चौकीमा बुझाइएको स्थानीयले बताएका छन् ।
सरकारले हरेक वर्ष असार साउनमा नदी उत्खनन्मा रोक लगाउने गरेको भएपनि बाँके खोलामा भने निरन्तर नदीजन्य सामाग्री उत्खनन् भईरहेको छ । नगरपालिकाले पटक पटक उत्खनन् रोक्न आग्रह गरेपनि क्रसर उद्योगले त्यसलाई वेवास्था गर्दैै उत्खनन्लाई निरन्तरता दिएपछि स्थानीयको सहयोगमा नगरप्रहरीले उद्योगको टिपर र स्काभेटर नियन्त्रणमा लिए । नियन्त्रणमा लिएको सवारी नगरपालिकातर्फ लैजान खोज्दा प्रहरीले रोकेको कान्ति बजारका स्थानीयले बताएका छन् ।
बर्खाको समयमा नदी उत्खनन् गर्न पाईदैन । प्रहरीले नै त्यस्तो कार्यमा संलग्नहरुलाई कार्वाही गर्नुपर्नेमा उल्टै क्रसर उद्योगीकै बचाउ गरेको भन्दै स्थानीयले आश्चर्य प्रकट गरेका छन् ।