भाईरल पोष्ट, धनुषा ।। गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा विभिन्न पालिकाका केही वडाहरुमा जित दर्ता गरेको बहुजन एकता पार्टी नेपालले संगठन विस्तार तथा सुदृढिकरणलाई तिब्रता दिएको छ ।
बहुसंख्यक उत्पीडित समुदायको नेतृत्व गर्दै आगामी संघ र प्रदेशको चुनावमा धेरैभन्दा धेरै सीटमा जित निकाल्ने उदेश्यले सो पार्टीले पार्टीको संगठन विस्तारलाई तिब्रता दिएको हो । संगठन विस्तारलाई तिब्रता दिएको सो पार्टीले अहिले विभिन्न जिल्लाका विभिन्न पालिकाहरुमा प्रशिक्षण कार्यक्रमहरु सञ्चालन गरिरहेको छ ।
यसैक्रममा शुक्रबार पनि सो पार्टीको प्रशिक्षण कार्यक्रम धनुषा जिल्लाको धनुषाधाम नगरपालिका वडा नम्बर ५ नौसयमा सम्पन्न भएको छ । पार्टीको नीति, सिद्धान्त, रणनीतिसहित आगामी चुनाव लक्षित गरी आयोजना गरिएको सो प्रशिक्षण कार्यक्रम पार्टीको वडाअध्यक्ष संजीव कुमार चमारको अध्यक्षतामा भएको थियो ।
प्रशिक्षण कार्यक्रमलाई सो पार्टीका वरिष्ठ नेता एवम् राष्ट्रिय संगठन प्रभारी राजराम पासवानले प्रमुख अतिथिको रुपमा सम्बोधन गर्नुभएको थियो । उहाँले बहुजन एकता पार्टी अहिलेको आवश्यकता भएको बताउनुभएको थियो । उहाँले उत्पीडित समुदायको आवाज ठुला भनिएका पार्टिहरुले कहिल्यै नसुन्ने बरु उल्टै उनीहरुको नाम भजाएर राजनीति गर्ने भन्दै आफूहरुले बहुजन एकता पार्टी गठन गरेको बताउनुभयो । उहाँले बहुजन एकता पार्टी सम्पूर्ण बहुजन उत्पीडत, शोषितपिडित जनताको पार्टी भएकोले यो पार्टीमा आवद्ध हुन सबैलाई आव्हान गर्नुभयो ।
पार्टी र संगठन निर्माणलाई पार्टीले तिब्रता दिएको बताउनुहुँदै राष्ट्रिय संगठन प्रभारी पासवानले बहुजन समुदायको हक अधिकार स्थापित गर्न आफूहरु जस्तो सुकै कदम पनि उठाउन तयार रहेको बताउनुभयो । उहाँले बहुजन एकता पार्टीलाई आगामी संघ र प्रदेशको चुनावमा विजयी बनाउन आग्रह गर्नुभयो ।
प्रशिक्षण कार्यक्रममा सो पार्टीका केन्द्रीय सह–महासचिव दुर्गा बि क, धनुषा जिल्ला उपाध्यक्ष रामपुकार सदा, महिला नेतृ बुधनिदेबि राम, नगर प्रमुख केशर मुखिया सन्तोष महरालगायतले मन्तव्य राख्नुभएको थियो ।