सोम दियाली, लालबन्दी ।। जिल्ला निर्वाचन कार्यालय सर्लाहीका निर्वाचन अधिकारी दिवाकर भुजेलले हरिपुर नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हाल्नु भएको छ ।
जिल्लामा २०७४ सालमा भएको स्थानीय तह निर्वाचन, प्रदेश र संघको निर्वाचन तथा २०७९ वैशाख ३० गते भएको स्थानीय तह निर्वाचन शान्त, निष्पक्ष र भयरहित वातावारणमा सम्पन्न गरी सफल बन्नुभएका निर्वाचन अधिकारी भुजेलले बुधवार हरिपुर नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हाल्नु भएको हो ।
यहाँका प्रमुख प्रशासकीय अधिकृत राजकुमार दास गृह जिल्ला सिराहा जानुभएपछि निर्वाचन अधिकारी भुजेल प्रमुख प्रशासकीय अधिकृत भएर आउनुभएको नगरपालिकाले जनाएको छ । नगरपालिकाले बुधबार नयाँ प्रमुख प्रशासकीय अधिकृत भुजेलको स्वागत तथा सरुवा भई जानुभएका प्रमुख प्रशासकीय अधिकृत राजकुमार दासको विदाई गरेको थियो ।
निर्वाचन अधिकारी भुजेल जस्तो सफल कर्मचारी प्रमुख प्रशासकीय अधिकृत भई आउनुभएपछि नगरको प्रशासनिक कामले गतिलिने अपेक्षा हरिपुरवासीले गरेका छन् । भुजेल आफैमा सफल कर्मचारी भएकोले हरिपुर नगरपालिकाले अत्यन्तै सफल कर्मचारीलाई प्रमुख प्रशासकीय अधिकृत पाउनु खुशिको कुरा भएको नगरवासीले बताएका हुन् ।
नयाँ आउनुभएका प्रमुख प्रशासकीय अधिकृत भुजेललाई नगरप्रमुख गोपाल पंजियारसहित उपमेयर, विभिन्न वडाका वडाअध्यक्ष तथा निर्वाचित वडासदस्यहरुले फुलमाला अविर लगाई स्वागत गर्नुभएको थियो भने विदाई भएर जानुभएका प्रमुख प्रशासकीय अधिकृत दासलाई पनि फुलमाला अविर लगाएर विदाई गर्नुभएको थियो । त्यस्तै स्वागत तथा विदाई कार्यक्रममा ईलाका प्रहरी कार्यालय हरिपुरका प्रमुखको समेत उपस्थिति रहेको थियो ।