भाईरल पोष्ट, कविलासी ।। लामो समय प्रमुख प्रशासकीय अधिकृत विहिन भएको कविलासी नगरपालिकामा अन्ततः नयाँ प्रमुख प्रशासकीय अधिकृतको रुपमा उदयप्रसाद देवकोटा हाजिर हुनुभएको छ ।
नयाँ आउनु भएका प्रमुख प्रशासकीय अधिृकत देवकोटाले सोमबार नै पदभार सम्हाल्नु भएको नगरप्रमुख ब्रह्मदेव रायका स्वकीय सचिव रामविनोद रायले जानकारी दिनुभयो । अधिकृत देवकोटा यसअघि २०७७ सालमा ईश्वरपुर नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत हुनुहुन्थ्यो ।
कविलासीमा लामो समयसम्म प्रमुख प्रशासकीय अधिकृत विहिन हुँदा नगरपालिकाको कामकार्वाही नै प्रभावित भएको थियो । चुनाव अघि नै यहाँका प्रमुख प्रशासकीय अधिकृत गिरीश कुमार झा अन्यत्र जानुभएपछि कविलासी नगरपालिका प्रमुख प्रशासकीय अधिकृत विहिन भएको थियो ।
त्यसपछि हरिवन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र प्रधानले नै यहाँ पनि प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हाल्नु भयो । तर प्रधान अधिकांश समय हरिवनमै वस्ने कविलासी नजाने भएपछि विभिन्न योजनाका भुक्तानी लगायतका काम गर्न कठिनाई भएको थियो ।
फाईल ठिक्क पारेर कर्मचारीले प्रमुख प्रशासकीय अधिकृतको हस्ताक्षर गर्न हरिवन नै लैजानु पर्दा कर्मचारीलाई पनि सास्ती थियो भने सेवाग्राहीले सास्ती नपाउने त कुरै भएन ।
चुनाव सकिए लगतै निर्वाचित मेयर ब्रह्मदेव रायले प्रमुख प्रशासकीय अधिकृत ल्याउन पहल गर्नुभयो । हाकिम नहुँदा नगरपालिकाका कार्यक्रमहरु भद्रगोल भएपछि आफूले मन्त्रालयमा अनुरोध गरेर नयाँ प्रमुख प्रशासकीय अधिकृत झिकाएको मेयर रायले भन्नुभयो ।
नयाँ प्रमुख प्रशासकीय अधिकृत आएसँगै अब नगरका गतिविधि तथा कार्यक्रमहरुले गति लिने मेयर रायले विश्वास व्यक्त गर्नुभयो ।