अम्बिका बुढाथोकी, कविलासी ।। सर्लाहीको कविलासीमा पुनरवहालीको माग राख्दै आन्दोलनरत करार तथा ज्यालादारी कर्मचारीहरुले स्थानीय सरकारले आफूहरुको राजीरोटी खोसेको गुनासो गरेका छन् ।
ईमान्दारीतापूर्वक काम गरिरहेकै समयमा विना कुनै जानकारी आफूहरुलाई सेवाबाट हटाइएकोले पुनरवाहाली गर्न माग गर्दै चरणबद्ध आन्दोलन गरिरहेका उनीहरुले स्थानीय सरकारले आफूहरुको जागीर खोसेर अन्याय गरेको बताएका हुन् ।
नगरपालिकाले असार १२ गते नै कार्यपालिकाबाट निर्णय गरी साउन १ गतेदेखि करार तथा ज्यालादारीमा काम गर्ने कर्मचारीहरुको सेवाअवधि थप नगर्ने निर्णय गरेपछि उनीहरु स्वतः बर्खास्त भएका थिए । नगर कार्यपालिकाको बैठकले अन्यायपूर्ण निर्णय गरेकोले सो निर्णय सच्याई आफूहरुलाई पुनः पदवहाली गर्न दवाव दिँदै असार ३२ गतेबाटै उनीहरुले चरणबद्ध आन्दोलन गरिरहेका छन् । उनीहरुले आफूहरुको मागमा मेयर, उपमेयर तथा अन्य जनप्रतिनिधिहरु गम्भीर नभएको आरोप लगाएका छन् ।
नगरपालिकाको वडा नम्बर ३ स्थित आधारभूत स्वास्थ्य केन्द्रमा कार्यालय सहयोगीको काम गर्दै आउनुभएका जितेन्द्र रायले जागीर गुमेपछि ८÷१० जनाको परिवार पाल्न मुस्किल हुने चिन्ता व्यक्त गर्नुभयो । ‘कसैले जागीर दियो, कसैले खाईदियो,’ जितेन्द्रले भन्नुभयो, ‘म एउटाको जागीरकै भरमा परिवार चलिरहेको थियो । अब जागीर नै नभएपछि परिवार कसरी पाल्ने होला ?’
उहाँले आफूले ईमान्दारिताका साथ काम गरेको भएपनि जागीरबाट हटाएको बताउनुभयो । ‘ईमान्दारपूर्वक नियमित कार्यालयमा गएर काम गर्नेलाई हटाएर कामै नगरी तलब खानेलाई चै हटाएको छैन । सक्नुहुन्छ भने त्यस्ता काम नगरी तलब खानेलाई हटाउनुस् ।’ जितन्द्रले जनप्रतिनिधिलाई सुझाव दिँदै भने ।
त्यस्तै सोही स्वास्थ्य चौकीमा अनमी पदमा कार्यरत मधु यादवले आफूहरुलाई विना कारण हटाएको भन्दै पुनरवहाली गर्न माग गर्नुभयो । ‘हामी करार सेवाका कर्मचारी हौं । हामीलाई हटाउने अधिकार जनप्रतिनिधिलाई छ । तर हटाउने आधार त हुनु पर्छ नि ।’, अनमी यादवले भन्नुभयो,‘कार्यसम्पादन मूल्यांकन बिना र कुनै जानकारी विना नै हामीलाई हटाइएकोले हामीले कार्यपालिका निर्णयको विरोध गरेका हौं ।’
उहाँले हटाउँदा करार सेवाका सबै कर्मचारीलाई हटाउनुपर्ने भन्नुहुँदै जनप्रतिनिधिहरुले कसैलाई काखा कसैलाई पाखा गरेको भन्नुभयो । उहाँले आफूहरुले कोभिड संकटको बेलामा समेत ज्यानको परवाहा नगरी काम गरेको स्मरण गर्नुहुँदै भन्नुभयो,‘नगरपालिकालाई संकट पर्दा हामी योग्य भयौं, अहिले चै हामी कसरी अयोग्य ? हटाउँदा सबैलाई हटाउनु पर्छ हैन भने हामीलाई पुनरवहाली गर्नु पर्छ । उहाँले आफूहरुको माग पूरा नहुँदा सम्म आन्दोलन नरोकिने समेत बताउनुभयो ।
त्यस्तै कर्मचारी पुनरवहाली संघर्ष समितिका संयोजक गगनदेव राउतले आफूहरुलाई राजनीतिक प्रतिसोधका कारण सेवाबाट हटाइएकोले पुनरवहालीका लागि आन्दोलन गरेको बताउनुभयो । ‘हामीलाई म्याद थप्न सरकारको नीति नियम छ । काम गरिरहेका कर्मचारीलाई हटाउन कुनै न कुनै अभियोग लगाउनुपर्ने हुन्छ । तर हामीलाई के अभियोग लागेको भन्ने पनि थाहा छैन । न यहाँ कार्यसम्पादन मूल्यांकन गरिएको छ । न तपाईलाई हटाईदैछ भने हामीलाई जानकारी नै दिइएको छ । सिधै हटाउनुको पछाडी कुनै राजनीतिक दबाव वा प्रेसर नै हो भन्ने हाम्रो ठम्याई छ ।’ राउतले भन्नुभयो ।, ‘नगरपालिकाले हामीमाथि अन्याय गरेको हाम्रो ठहर हो । संविधानको धारा ३३ को मौलिक हकमा उल्लेख भएबमोजिम पनि हाम्रो रोजगारी खोस्न मिल्दैन । त्यसैले हामी चरणवद्ध आन्दोलनमा छौं । हाम्रो माग पूरा नहुँदा सम्म आन्दोलन जारी रहन्छ । त्यस्तै परे हामी अदालत सम्म पनि पुग्न सक्छौं ।’
तर यता कविलासी नगरपालिकाका मेयर ब्रह्मदेव रायले भने करार र ज्यालादारी कर्मचारीहरुलाई कानून सम्मत नै हटाइएकोले यसलाई अन्याय भयो भन्न नमिल्ने बताउनुभयो । ‘हामीले कानून सम्मत नै उहाँहरुलाई हटाएका हौं । कार्यपालिकाको वैठकको निर्णय उहाँहरुलाई जानकारी गराएर नै उहाँहरलाई हटाएका हौं ।’ मेयर रायले भन्नुभयो, ‘कुनै राजनीतिक प्रतिसोधको भावनाले हामीले उहाँहरुलाई हटाएका होईनौं ।’ मेयर रायले रिक्त पदहरुमा पदपूर्तिका लागि नगरपालिकाले पुनः विज्ञापन गर्ने बताउनुहुँदै आन्दोलनरत कर्मचारीहरुलाई आन्दोलन गर्न छोडेर पुनः तयारी गर्न आग्रह गर्नुभयो ।
‘हटाइएकामध्ये केही कर्मचारीहरु योग्य पनि हुनुहुन्छ । उहाँहरुलाई पुनः प्रक्रियामार्फत आउन हामी आग्रह गर्दछौं ।, मेयर रायले भन्नुभयो । केही साथीहरुमाथि अन्याय भएको पनि हामीले महसुस गरेकाछौं । त्यस्ता साथीहरुलाई हामीले प्राथमिकता दिनेछौं ।’
उहाँले अघिल्ला जनप्रतिनिधिहरुले बग्रेल्ती कर्मचारी भर्ना गरेको कारण नगरपालिकालाई ठुलो आर्थिक भार पर्न गएकोले त्यो भार कम गर्न करार र ज्यालादारीमा काम गर्ने कर्मचारीहरुको म्याद थप गर्न नसकिएको बताउनुभयो । उहाँले करारका कर्मचारीहरुलाई हटाइएको विषयलाई कसैले राजनीतिकरण गर्न खोजे त्यो नगरपालिकाको हितमा नहुनेभएकोले यो विषय यही टुंग्याउन आग्रह गर्नुभयो ।