भाइरल पोष्ट, कविलासी ।। पानी नपरेपनि सर्लाहीको कविलासी नगरपालिकामा धमाधम रोपाई भईरहेको छ । असार सकिएर साउन लागिसक्दा पनि रोपाई गर्न नपाएर चिन्तित बनेका किसानका लागि नगरपालिकाले स्थानीय नदीहरुमा अस्थायी बाँध बाँधी पानी खेतमै लगिदिएपछि किसान खुशि हुँदै धमाधम रोपाईमा व्यस्त भएका हुन् ।
‘पानी नपरेर रोप्नका लागि तयार गरेको विउ समेत जोगाउन मुस्किल थियो । धान रोप्न नपाए बर्षभरी के खाने भनेर चिन्ता थियो ।’ स्थानीय किसान राविलास पण्डितले भने, ‘नगरपालिकाले लखनदेही नदीमा अस्थायी बाँध बाँधेर खेतमा पानी लगिदिएपछि अब त सबै चिन्ता हराएको छ ।’ उनले खेतमा रोपाईका लागि पानी पर्याप्त हुनेभएपछि १५ दिनमै रोपाई सकिने विश्वास व्यक्त गरे ।
त्यस्तै अर्का किसान आत्माराम मण्डलले पनि सयौं विगाहा खेतमा रोपाई भईरहेको बताए । नगरपालिकाले किसानको समस्यालाई बुझेर स्थानीय खोलामा अस्थायी बाँध बाँधेरै भएपनि खेतमा पानी लगिदिएपछि सबै किसान खुशि भएको बताए ।
असार १५ यता सर्लाहीमा लगभग पानी परेको छैन । लामो समय पानी नपर्दा रोपेका खेत पनि पटपटी फुटेका थिए । किसानलाई रोपो जोगाउन समेत मुस्किल थियो । किसानको समस्या नै आफ्नो समस्या भएकोले स्थानीय लखनदेही, झिम र ढङ्ग्रा खोलामा अस्थायी बाँध बाँधेर किसानलाई रोपाईका लागि पानी उपलब्ध गराईएको नगरप्रमुख ब्रह्मदेव रायले बताए । उनले नगरपालिकाको प्रयासमा झण्डै ५ हजार विगाहा खेतमा रोपाईका लागि पानीको सुविधा भएको बताए ।
मेयरसाप आफै बागमती सिँचाई आयोजनामा गई त्यहाँबाट दुईओटा स्काभेटर मागेर ल्याउनुभयो । नगरपालिका आफैले थप एउटा जेसिवी स्काभेटर भाडामा लिएर अहिले झिम नदीमा एउटा, लखनदेही नदीमा एउटा र ढङ्ग्रा नदीमा एउटा गरी तीन ओटा जेसिवी स्काभेटरले अस्थायी बाँध बनाउने काम गरिरहेको मेयरका स्वकीय सचिव रामविनोद रायले बताए । उनका अनुसार बागमती सिँचाई आयोजनाबाट ल्याइएका स्काभेटरमा नगरपालिकाले तेल मात्रै हालेको छ । अर्को स्काभेटर भने दैनिक ४ हजार भाडामा लिइएको छ ।
उनले मेयर रायले पदभार ग्रहण गरेको झण्डै दुई महिना पुग नपुग हुँदा धेरै नै जनपक्षीय काम गरेको बताए । ‘मेयरसापले किसानको समस्या सम्बोधन मात्रै गर्नुभएको छैन । नगरका विभिन्न वडाहरु जोड्ने हिलाम्मे र विग्रीएका बाटोहरुमा खाल्डाखुल्डी पुर्ने र सम्याउने काम समेत गर्नुभएको छ ।’, स्वकीय सचिव रामविनोदले भने ।
बागमती सिँचाई आयोजनाका कर्मचारी विकाउ राउतले मेयर राय आफै सिँचाई आयोजनाको कार्यालयमा पुगी स्काभेटर माग्नु भएपछि दुई ओटा स्काभेटर उपलब्ध गराइएको बताए । उनले रोपाईको समयमा समेत आयोजनाले नहरमा पानी छोड्न नसकेको बताए । उनले अहिले नहर सफाईको काम भईरहेकोले छिट्टै नै पानी छोडिने बताए ।
त्यस्तै पूर्व सांसद जंगीलाल रायका भाई समेत रहेका नेपाली काँग्रेस जिल्ला कार्यसमितिका सदस्य रघुनाथ रायले पनि मेयर ब्रह्मदेव रायको प्रसंसा गरेका छन् । ‘दश वर्ष यता कविलासीमा अहिलेको मेयरको जस्तो काम भएको छैन । अहिले रोपाई गर्न नपाएका किसानलाई पानी उपलब्ध गराएर मेयर रायले राम्रो काम गर्नुभएको छ ।’, कविलासीकै स्थानीय समेत रहेका नेता रायले भने,‘५ वर्षे कार्यकाल अवधिभर यसरी नै जनताको काम गर्दै जानुस् ।’