भाईरल पोष्ट, सागरनाथ ।। सर्लाहीको ईश्वरपुर ४ सागरनाथमा निर्मित नयाँ आधारभूत स्वास्थ्य चौकी भवनको उद्घाटन गरिएको छ ।
वडा नम्बर ४ का वडाअध्यक्ष प्रेम कुमार थिङ्गको अध्यक्षता तथा नगरप्रमुख मनोज कुमार आचार्यको प्रमुख आतिथ्यतामा मेयर आचार्यले नै नवनिर्मित ४ कोठे आधारभूत स्वास्थ्य चौकी भवनको उद्घाटन गर्नुभएको हो ।
सागरनाथवासीलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउने उदेश्यले झण्डै डेढ वर्ष अघि त्यहाँ आधारभूत स्वास्थ्य चौकी भवनको निर्माण कार्य सुरु भएको थियो । भवन निर्माणको काम केही महिनाअघि नै सम्पन्न भएको भएपनि गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनका कारण उद्घाटन भने हुन सकेको थिएन ।
ईश्वरपुर नगर स्वास्थ्य शाखाका संयोजक सुगेन्द्र महतोका अनुसार वडा नम्बर ४ मा कतैपनि स्वास्थ्य केन्द्र थिएन । स्वास्थ्य चौकी नहुँदा सागरनाथवासीलाई स्वास्थ्य सेवा लिन समस्या हुने गरेको थियो । स्थानीय कविमाया रसाईलीले निःशुल्क रुपमा दिनुभएको २ कट्ठा जग्गामा नेपाल सरकारकै लगानीमा स्वास्थ्य चौकी भवन निर्माण भई सञ्चालनमा आएपछि सागरनाथवासी हर्षित भएका छन् ।
भवन उद्घाटनका क्रममा नागरीकले स्वास्थ्य सेवा पाउने स्वास्थ्य चौकी जस्तो अत्यावश्यक संस्थाको भवन निर्माण गर्न निःशुल्क जग्गा दान गर्नुहुने स्थानीय कविमाया रसाईलीलाई मेयर आचार्यले दोसल्ला ओढाई कदर पत्रबाट सम्मान गर्नुभएको छ ।
भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मेयर आचार्यले आम नगरवासीको साथ र सहयोग पाएर आफू अत्यन्तै हर्षित भएको बताउनुभयो । उहाँले नगरको विकासमा सम्पूर्ण रुपले सहयोग गर्न नगरवासीमा आग्रह समेत गर्नुभयो । उहाँले नगरवासीको सु–स्वास्थ्य र दिर्घायूको समेत कामना गर्नुभयो ।
सागरनाथमा स्वास्थ्य चौकीको सेवा चुस्त दुरुस्त बनाउन नगरपालिकाले आवश्यक सम्पूर्ण सहयोग गर्ने बताउनुहुँदै मेयर आचार्यले नव निर्मित आधारभूत स्वास्थ्य चौकी सञ्चालन गर्न नगरपालिकाले वडा अध्यक्षकै संयोजकत्वमा समिति गठन गर्ने बताउनुभयो ।
स्वास्थ्य चौकी उद्घाटन कार्यक्रममा उपमेयर रंजितादेवी चौधरी, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हिराकाजी श्रेष्ठ, जग्गादाता कविमाया रसाईली, नगरका स्वास्थ्यकर्मी र अन्य कर्मचारी, सागरनाथवासी लगायतको उपस्थिति रहेको नगर स्वास्थ्य शाखाका संयोजक महतोले जानकारी दिनुभयो ।