राजु तामाङ, हरिवन ।। सर्लाहीको हरिवन नगरपालिकामा नगर स्तरीय चित्रकला प्रतियोगिता सम्पन्न भएको छ । शुक्रबार महादेव जनता नमुना माध्यमिक विद्यालयमा हरिवन नगरपालिकाको महिला तथा बालबालिका शाखाको आयोजनामा चित्रकला प्रतियोगिता सम्पन्न भएको हो ।
प्राथमिक तहका बालबालिकाहरुका लागि लक्षित गरी बालश्रम सम्बन्धि विषयवस्तुमा आधारित रही चित्रकला प्रतियोगिताको आयोजना गरिएको थियो । प्रतियोगितामा नगर भित्रका निजी तथा सामुदायिक विद्यालय गरि २३ वटा विद्यालयले सहभागीता जनाएका थिए । २३ वटा विद्यालयका गरी ४६ जना विद्यार्थी सहभागि प्रतियोगितामा छात्रातर्फ निजी विद्यालय सर्लाही एम्विशन एकेडेमीकी कक्षा ५ मा अध्ययनरत छात्रा मनुमाया लो प्रथम भएकी छन् भने छात्रतर्फ सामुदायिक विद्यालय चुरे प्राविका अनिष थिङ प्रथम भएका छन् । प्रथम हुने छात्रछात्रालाई जनही २ हजार २५० रुपैयाँ नगद, शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरी पुरस्कृत गरिएको छ ।
हरिवन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र प्रधान, शिक्षा शाखा अधिकृत नवराज निरौला, महिला तथा बालबालिका शाखाकी प्रमुख आशा खरेल, महादेव जनता नमुना माविका प्रधानाध्यापक जयशंकर सिंह लगयात शिक्षक–शिक्षिकाहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको महिला तथा बालबालिका निरीक्षक पुनम हुमागाईले जानकारी दिनुभयो ।