भाईरल पोष्ट, हरिवन ।। हरिवन नगरपालिकाकी उपप्रमुख हरिमाया घलानले महिलाहरु अब नेतृत्वमा आउनुपर्ने बताउनुभएको छ । नगरपालिकाको महिला तथा बालबालिका शाखाले महिला सदस्यहरुको लागि आयोजना गरेको दुई दिने क्षमता अभिवृद्धि सम्बन्धी तालिम समापन कार्यक्रममा बोल्नुहुँदै उपमेयर घलानले बोल्न सक्ने महिलाहरु मात्रै नेतृत्वमा पुग्न सक्ने बताउनुभयो ।
‘महिलाहरु उपप्रमुख र वडासदस्यमा मात्रै सीमित छन् । विभिन्न संघसंस्थाको नेतृत्व गठन गर्दा पनि महिलालाई उपाध्यक्ष या कोषाध्यक्ष दिने गरिएको छ । के महिलाको क्षमता यतिमै सीमित भएको हो त ?’, उपमेयर घलानले प्रश्न गर्दै भन्नुभयो । उहाँले नेतृत्व तहमा पुग्न महिलाहरुले सुरुमा त बोल्न नै जान्नुपर्ने बताउनुभयो । ‘महिलाहरुमा क्षमता नभएको होईन तर उहाँहरु बाहिर निकाल्न सक्नुहुन्न । उहाँहरुलाई अरुले जस्तो फुलबुट्टा भरेर बोल्न आउँदैन ।’ उपमेयर घलानले भन्नुभयो,‘महिलाहरुलाई बोल्न सक्ने बनाउने भनेकै यस्तै खालका क्षमता अभिवृद्धि तालिम नै हो । नगरपालिकाले आगामी दिनमा पनि महिलाहरुको क्षमता अभिवृद्धिका लागि अन्य कार्यक्रमहरु समेत ल्याउनेछ ।’
सोमबार र मंगलवार गरी दुई दिन सञ्चालन भएको तालिममा हरिवन नगरपालिकाका ११ ओटा वडाका गरी ३० जना बढी विभिन्न संघसंस्थामा आवद्ध महिलाहरुको सहभागिता रहेको थियो । तालिममा सहभागि महिलाहरुलाई पत्रकार सोम दियालीले प्रशिक्षण दिनुभएको थियो । तालिमको सहजीकरण भने महिला तथा बालबालिका शाखा हरिवनकी प्रमुख आशा खरेल र निरीक्षक पुनम हुमागाईले गर्नुभएको थियो ।
बोल्ने सीपले पनि महिलाहरुलाई अघि बढ्न सक्षम बनाउने भन्दै उहाँहरुलाई तालिम प्रदान गरिएको महिला तथा बालबालिका शाखा प्रमुख आशा खरेलले बताउनुभयो । ‘महिला दिदीबहिनीहरु आफूलाई अघि बढाउन चाहानुहुन्छ । तर उहाँहरु मञ्चमा बसेर निर्धक्कसँग बोल्न सक्नु हुन्न । उहाँहरु कुनै पनि कार्यक्रमहरुमा आफ्नो परिचय दिन समेत हिचकिचाउनु हुन्छ । यो तालिमले उहाँहरुमा भएको डर हटाएर निर्धक्कसँग बोल्न सक्ने बनाउनेछ भन्ने हामीले विश्वास लिएकाछौं,’ शाखा प्रमुख खरेलले भन्नुभयो ।
तालिममा सहभागि महिलाहरुलाई सभा, सेमिनार, बैठक तथा मञ्च कार्यक्रमहरु कसरी सञ्चालन गर्ने भनेर सिकाईएको थियो । त्यस्तै उहाँहरुलाई मञ्चमा उभिएर कसरी बोल्नु पर्छ भनेर समेत सिकाईएको थियो । सो क्रममा सहभागिहरुले पालैपालो कार्यक्रम उद्घोषण गर्न सिकेका थिए ।