अम्बिका बुढाथोकी, हरिवन ।।सर्लाहीको हरिवनमा महिला सदस्यहरुको लागि दुई दिने क्षमता अभिवृद्धि सम्बन्धी तालिम सुरु भएको छ । हरिवन नगरपालिकाको महिला तथा बालबालिका शाखाले तालिमको आयोजना गरेको हो ।
तालिममा नगरका ११ ओटै वडाका ३० जनाभन्दा बढी विभिन्न क्षेत्रमा आवद्ध महिला दिदीवहिनीहरु सहभागि हुनुभएको छ । तालिममा सहभागि महिला दिदीबहिनीहरुलाई पत्रकार सोम दियालीले प्रशिक्षण दिई रहनुभएको छ ।
बोल्ने सीपले पनि महिलाहरुलाई अघि बढ्न सक्षम बनाउने भन्दै उहाँहरुलाई तालिम प्रदान गरिएको महिला तथा बालबालिका शाखा प्रमुख आशा खरेलले बताउनुभयो । ‘महिला दिदीबहिनीहरु आफूलाई अघि बढाउन चाहानुहुन्छ । तर उहाँहरु मञ्चमा बसेर निर्धक्कसँग बोल्न सक्नु हुन्न । उहाँहरु कुनै पनि कार्यक्रमहरुमा आफ्नो परिचय दिन समेत हिचकिचाउनु हुन्छ । यो तालिमले उहाँहरुमा भएको डर हटाएर निर्धक्कसँग बोल्न सक्ने बनाउनेछ भन्ने हामीले विश्वास लिएकाछौं,’ शाखा प्रमुख खरेलले भन्नुभयो ।
तालिम पश्चात महिलाहरु आफ्नो परिचय दिन मात्रै हैन विभिन्न औपचारीक तथा अनौपचारिक कार्यक्रमहरुको उद्घोषण गर्न समेत सक्षम हुने महिला तथा बालिबालिका निरीक्षक पुनम हुमागाईले बताउनुभयो ।
‘हामीले नगरपालिकाभित्रका विभिन्न आमा समूह, सहकारी, महिला सञ्जाल, राजनितीक दलमा आवद्ध महिला, मानव अधिकारका क्षेत्रमा आवद्ध महिला, शिक्षण पेशामा आवद्ध महिला दिदीबहिनीहरुलाई तालिममा सहभागि गराएकाछौं ।’, निरीक्षक हुमागाईंले भन्नुभयो,‘उहाँलहरुले आफू आवद्ध संघसंस्थामा हुने विभिन्न वैठक, सभा, सेमिनार, साधारण सभा लगायतका कार्यक्रमहरु सञ्चालन गर्न सक्नुभयो भने त्यो हाम्रो लागि पनि उपलब्धीमूलक हुनेछ ।’
सोमबारदेखि सुरु भएको तालिम मंगलवार सकिने महिला तथा बालबालिका शाखा हरिवनले जनाएको छ ।