भाईरल पोष्ट, लालबन्दी ।। सर्लाहीको १८ ओटा पालिकाले गाउँ तथा नगरसभा मार्फत् आगामी आर्थिक वर्षका लागि नीति, कार्यक्रम तथा बजेट ल्याएका छन् ।
असार १० गतेभित्र स्थानीय तहहरुले आ–आफ्नो पालिकाको नीति, कार्यक्रम तथा बजेट ल्याउनुपर्ने प्रावधान अनुरुप शुक्रबार असार १० गते सम्ममा १८ओटा पालिकाहरुले नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरेका हुन् ।
जिल्लाको हरिपुर नगरपालिका, कविलासी नगरपालिका र पर्सा गाउँपालिकाले बिहीबार अर्थात असार ९ गते नै नीति, कार्यक्रम तथा बजेट पेश गरेका हुन् भने शुक्रबार अर्थात असार १० गते धनकौल र विष्णु गाउँपालिका बाहेक १५ओटा पालिकाहरुले आगामी आर्थिक वर्ष २०७९÷८० का लागि नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरेका हुन् ।
शुक्रबार बजेट प्रस्तुत गर्ने पालिकाहरुमा लालबन्दी, ईश्वरपुर, हरिवन, बरहथवा, बागमती, हरिपूर्वा, मलंगवा, गोडैता, बलरा, बसबरिया, रामनगर, ब्रह्मपुरी, चक्रघट्टा, कौडेना र चन्द्रनगर गाउँपालिका रहेका छन् ।
जिल्लाको धनकौल गाउँपालिका र विष्णु गाउँपालिकाले गाउँसभा गर्न सकेनन् । गाउँसभा हुन नसकेको विष्णु गाउँपालिकाका अध्यक्ष जवाहारलाल यादवले प्रदेश र संघको विभिन्न कार्यक्रममा ब्यस्त हुनु परेकोले गाउँसभा तोकिएकै समयमा गर्न नसकिएको बताउनुभयो । यस्तै, धनकौल गाउँपालिकाले भने असार १३ गते गाउँसभा गर्ने जानकारी दिएको छ ।
यसैबीच, जिल्लाका अधिकांश पालिकाले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेटमा कृषि, शिक्षा, स्वास्थ्य र भौतिक पूर्वाधार विकासलाई नै प्राथमिकतामा राखेको पाइएको छ ।