भाइरल पोष्ट, कविलासी ।। असार ७ गते राती सर्लाहीको कविलासी नगरपालिका–८ अगर्वामा एक युवकको हत्या भएको घटनामा संलग्नहरुलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा मृतककै सहोदर भाईसहित २ जना रहेका छन् ।
अगर्वाका स्थानीय रामकेवल ठाकुरका छोरा २४ वर्षीय अमरेन्द्र ठाकुरको घाँटी रेटेर विभत्स हत्या गरिएको अवस्थामा असार ७ गते बिहान शव फेला परेको थियो । प्रहरीले अमरेन्द्रको हत्यामा संलग्न रहेको आरोपमा उनकै सहोदर भाई अमरकान्त ठाकुर र सोही ठाउँका रुपेश कुमार चौधरीलाई पक्राउ गरेको हो ।
अमरकान्तले रुपेशसँग मिलेर दाई अमरेन्द्रको हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ । मृतक अमरेन्द्र र भाई अमरकान्तबीच पहिले देखि नै विवाद भइरहने गरेको थियो । असार ६ गते बेलुका पनि उनीहरु दुई दाजुभाईबीच तरकारी ल्याउने विषयमा सामान्य विवाद भएपछि भाई अमरकान्तले गाउँकै साथी रुपेश कुमारसँग मिलेर दाई अमरेन्द्रको हत्या गरेको खुलेको सर्लाही प्रहरीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक(डीएसपी) माधव प्रसाद बुढाथोकीले जानकारी दिनुभयो ।
उनीहरुले अमरेन्द्रलाई असार ६ गते राती ८ बजेतिर खानपिनको व्यवस्था छ भनी अगर्वा चोकबाट पश्चिम सलेमपुर नहरतर्फ जाने कच्ची सडकको एकान्त ठाउँमा बोलाएर धारिलो हतियारले घाँटी रेटेका थिए । त्यतिमात्रै नभएर अमरेन्द्रको शरीरका विभिन्न भागमा ढुङ्गा प्रहार गरेर हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । अनुसन्धानका क्रममा मृतकका भाई अमरकान्तले शङ्कास्पद व्यवहार देखाउन थालेपछि उनलाई बिहीबार राती नियन्त्रणमा लिएर अनुसन्धान गरिएको थियो । अमरकान्तले साथी रुपेशसँग मिलेर दाईको हत्या गरेको स्वीकार गरेका डीएसपी बुढाथोकीले बताउनुभयो ।
प्रहरीले उनीहरु दुवैविरुद्ध कर्तव्य ज्यान मुद्दामा सर्लाही जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको छ ।
घटना लगत्तै सर्लाही प्रहरीका प्रमुख (एपसी) प्रवीण पोखरेल, डीएसपी बुढाथोकी र इलाका प्रहरी कार्यालय हरिपुरका प्रहरी निरीक्षक (इन्स्पेक्टर) विजय कुँवरसहितका प्रहरी अधिकारीहरु अनुसन्धानमा खटिनुभएको थियो । प्रहरीले अमरेन्द्रको शव फेला पर्नासाथ प्रदेश प्रहरी कार्यालय जनकपुरधामबाट तालिम प्राप्त कुकुर समेत झिकाएर अनुसन्धान गरेको थियो ।