भाईरल पोष्ट, लालबन्दी ।। जिल्लाको लालबन्दी नगरपालिकाले आगामी आर्थिक वर्ष का लागि सवा १ अर्बको बजेट प्रस्तुत गरेको छ ।
शुक्रबार सुरु भएको आठौं नगरसभाले आर्थिक वर्ष २०७९÷०८० का लागि एक अर्ब २५ करोड पाँच लाख ४४ हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको हो । नगरसभामा प्रस्तुत गरिएको बजेटमध्ये स–शर्ततर्फ ७३ करोड २२ लाख रुपैयाँ र निःशर्ततर्फ ५१ करोड ८३ लाख ४४ हजार रुपैयाँ रहेको छ ।
नगरप्रमुख अधिकारीकै सभाध्यतामा शुक्रबार भएको आठौं नगरसभामा नगरप्रमुख अधिकारीले लालबन्दी नगरपालिकाका बर्थिङ सेन्टरमा प्रसुति हुने महिलालाई पाँच हजारका दरले सुत्केरी खर्च उपलब्ध गराउने, नगरपालिकाको विकासको मुख्य व्यापारिक नाका विस्तार गर्न बी.पी. राजमार्गसम्म पहुँच सुनिश्चित गर्न लालबन्दी–मरिण सडक निर्माण कार्यलाई द्रुतरुपमा अगाडि बढाउने, प्राथमिक स्वास्थ्य केन्द्रमा एम.डी. डाक्टरको सेवा सूचारु गरिने र पोष्टमार्टमको समस्यालाई निराकरण गर्न लालबन्दीको प्राथमिक स्वास्थ्य केन्द्रमा पोष्टमार्टम गर्ने व्यवस्था मिलाइने, कृषि प्रविधि र प्राविधिक उत्पादन गर्न उष्ण प्रदेशीय बागवानी केन्द्र र तेलबाली अनुसन्धान केन्द्रसँग समन्वय गरी कृषि क्याम्पसको स्थापनाको पूर्वाधार विकास गरी सम्वन्धित विश्वविद्यालयबाट सम्वन्धन लिने व्यवस्था मिलाइने लगायतका कार्यक्रम प्रस्तुत गर्नुभएको छ ।
यस्तै, नगरपालिकाभित्र लामो समयदेखि ऐलानी पर्ति जग्गामा बसोवास गरिरहेका घरपरिवारलाई जग्गाधनी पूर्जा वितरण गरिने, मनमोहन मेमोरियल सामुदायिक अस्पतालको भवन निर्माण कार्य सुरु गर्ने, रानिगञ्जमा नगरस्तरीय १५ शैय्याको अस्पताल निर्माणको प्रक्रिया सुरु गरिने, नगरपालिका क्षेत्रका अधिकतम् बस्तीहरुलाई जोडने हरित चक्रपथ निर्माणको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बमोजिमको कार्य शुभारम्भ गर्ने प्रमुख लगायतका कार्यक्रमहरु पनि नीति तथा कार्यक्रममा प्रस्तुत गरिएको छ ।
प्रमुख प्रशासकीय अधिकृत बासुदेव तिमल्सेनाले सञ्चालन गर्नुभएको नगरसभाको उद्घाटन समारोहमा बोल्नुहुँदै विभिन्न पार्टीका प्रतिनिधि, उद्योग वाणिज्य संघका अध्यक्ष, पूर्व मेयर लगायतले नीति तथा कार्यक्रमको सफलताको शुभकामाना व्यक्त गर्नुभएको छ ।
कार्यक्रममा नीति तथा कार्यक्रमका बारेमा धारणा राख्नुहुँदै पूर्व मेयर मान बहादुर खड्काले नगरपालिकाले ल्याएको नीति तथा कार्यक्रम राम्रो रहेको बताउनुभयो । उहाँले आफू मेयर हुँदा शुरु गरेका कतिपय योजनालाई निरन्तरता दिएको भन्दै खुशि व्यक्त गर्नुभयो । उहाँले नीति तथा कार्यक्रम भनेकै नगरलाई कस्तो बनाउने भन्ने सपना भएको बताउनुभयो ।
त्यस्तै नेकपा एकीकृत साजवादीका लालबन्दी नगर अध्यक्ष जगन्नाथ काफ्ले (राजन) नगरपालिकाले प्रस्तुत गरेको नीति तथा कार्यक्रम राम्रो भएको भएपनि कार्यान्वयनको पक्षका आधारमा विरोध या समर्थन गर्ने बताउनुभयो ।
त्यस्तै माओवादी केन्द्रका नगरअध्यक्ष लेखराम जर्गामगरले नगरपालिकाको नीति तथा कार्यक्रम सान्दर्भिक रहेको भन्दै कार्यान्वयनमा सबैले सघाउनु पर्ने बताउनुभयो ।
त्यसैगरी उद्योग वाणिज्य संघ लालबन्दीका अध्यक्ष कल्याण कुमार जोशीले नगरपालिकाले कृषि, स्वास्थ्य, शिक्षा, बजार, सडक, सरसफाई लगायत समग्र विषयलाई नीति तथा कार्यक्रममा समेटेकोले उद्योग वाणिज्य संघले त्यसको स्वागत गरेको बताउनुभयो ।
नेपाली काँग्रेसका प्रदेश ख का सभापति सिताराम दाहालले नगरको विकासमा अल्पमत, बहुमत भनेर भन्दापनि नगरको हित कसरी हुन्छ भनेर सबै लाग्नु पर्ने र बजेट कार्यान्वयनमा जोड दिनुपर्ने बताउनुभयो ।
त्यसैगरी नेकपा एमालेका नगर अध्यक्ष विक्रम भण्डारीले नीति तथा कार्यक्रम भन्दा पनि नगरसभा कार्यक्रमको व्यवस्थापन पक्ष फितलो भएको बताउनुभयो । उहाँले समग्रमा नीति तथा कार्यक्रम राम्रै भएपनि कार्यान्वयनमा भने आशंका व्यक्त गर्नुभयो ।