भाईरल पोष्ट, चक्रघट्टा ।। अंग्रेजी शिक्षा आजको आवश्यकता नै भएपछि सामुदायिक विद्यालयहरुले पनि अंग्रेजी माध्यमको पठनपाठनलाई प्राथमिकता दिई रहेका छन् । यसै क्रममा सर्लाहीका चक्रघट्टा गाउँपालिकाले पालिकाका सबै सामुदायिक विद्यालयका बालविकास कक्षामा अंग्रेजी माध्यमको पढाई सुरु गरेको छ ।
सोमबार एक कार्यक्रम गरी गाउँपालिकाको वडा नम्बर ८ मा रहेको जनता माध्यमिक विद्यालयबाट गाउँपालिकाले अंग्रेजी माध्यमको पठनपाठन अभियान शुरु गरेको हो । विद्यालयले आयोजना गरेको नवनिर्वाचित जनप्रतिनिधिहरुको स्वागत तथा सम्मान कार्यक्रमबाट पालिका अध्यक्ष कृष्ण कुमार यादवले उक्त अभियानको सुरुवात भएको घोषणा गर्नुभएको सो विद्यालयका प्रधानाध्यापक लक्ष्मीकान्त रायले जानकारी दिनुभयो ।
चुनावी घोषणा पत्रमा उल्लेख गरे अनुसार आफुले बालविकास कक्षादेखि पालिकाका सम्पूर्ण विद्यालयमा अंग्रेजी माध्यमका पठनपाठन सुरु गरेको अध्यक्ष यादवले बताउनुभएको छ । पहिलो वर्ष बालविकासदेखि अंग्रेजी माध्यमको पठनपाठन सुरु भएपनि क्रमशः वर्षेनी कक्षा थपिँदै लगिने गापा अध्यक्ष यादवले बताउनुभयो । उहाँले शिक्षा क्षेत्रमा देखिएका कमी कमजोरीलाई विस्तार सुधार गर्दै लैजाने योजना अनुसार पहिलो काम अंग्रेजी माध्यमका पठन पाठनलाई सुरुवात गरिएको बताउनुभयो । गाउँपालिका अध्यक्षमा जितेको एक महिनामै अध्यक्षले शिक्षा क्षेत्रमा राम्रो सुरुवात गर्नुभएको स्थानियबासी हरिनारायण रायले बतउनुभयो ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष मिना देवी यादव, वडाध्यक्षहरु रामकैलाश राउत, दिनेश साह, फैयाज अहमद, नागेन्द्र प्रसाद साह, राजेश यादव, विजय कुमार यादव, पूर्व वडाध्यक्ष अब्दुल अहद कबाडी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राधाकृष्ण राय लगायतको उपस्थिति रहेको थियो ।