भाईरल पोष्ट, नवलपुर ।। नयाँ मतदाता नामावलीमा महिला, दलित तथा सिमान्तकृत समुदायको पहुँच सुनिश्चिताका लागि सर्लाहीको नवलपुरमा अन्तरक्रिया कार्यक्रम गरिएको छ ।
निर्वाचन आयोगले असार १ गतेबाट पुनः मतदाता नामावली संकलनको कार्य सुरु गरेसँगै ती समुदायको पहुँच सुनिश्चितताका लागि दलित सरोकार मञ्च नेपाल कंचनरुप सप्तरीले यहाँ अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको हो ।
मतदाता नामावलीमा महिला, दलित, अल्पसंख्यक तथा सिमान्तकृत समुदायको पहुँच अझै पुग्न नसकेको र मतदाता नामावलीमा ती समुदायहरुको सुनिश्चिता के कसरी गर्न सकिन्छ भनेर जिल्लाका सरोकारवालाहरुले अन्तरक्रिया गरेका छन् ।
कार्यक्रममा बोल्नुहुँदै बहुजन एकता पार्टी नेपालका वरिष्ठ नेता राजाराम पासवानले दलितले अब अरुको पछाडी लाग्ने नभई अरुलाई पछाडी लगाएर हिड्नुपर्ने अर्थात अब नेतृत्वमा दलित आउनुपर्ने बताउनुभयो । उहाँले दलितले सधैं अरुको पछि लागेर हिडे राज्यका कुनै पनि तह र तप्कामा पहूँच नपुग्ने बताउनुभयो ।
नवलपुरस्थित अनमोल गेष्ट हाउसमा आयोजित अन्तरक्रिया कार्यक्रममा नेता पासवानले दलित समुदायका लागि शिक्षा अत्यावश्यक भएकोले बालबालिकाई उचित शिक्षा प्रदान गर्नुपर्ने बताउनुभयो । उहाँले मतदाता नामवलीमा सम्पूर्ण दलित समुदायलार्य नाम दर्ता गराउन आग्रह समेत गर्नुभयो । ‘अन्याय गर्नु हुँदैन तर अन्याय पनि सहनु हँुदैन, जातिय विभेद अन्त्य गर्नुपर्छ’ नेता पासवानले भन्नुभयो, ‘राज्यको हरेक अंगमा दलित समुदाय आफै लडेर आफनो अधिकार लिनुपर्छ ।’
कार्यक्रममा आयोजक संस्थाका प्रतिनिधिहरु, जिल्ला निर्वाचन कार्यालयका प्रमुख दिवाकर भुजेल र अन्य दलित अगुवाहरुको उपस्थिति रहेको थियो ।