भाइरल पोष्ट, हरिपूर्वा ।। सर्लाहीको हरिपूर्वा नगरपालिका वडा नम्बर ५ मा नव निर्मित विद्यालय भवनको हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।
अस्ट्रेलियन गैर सरकारी संस्था सहकार्य कार्यक्रमको आर्थिक सहयोग तथा ह्याण्डीक्याप ईन्टरनेशनल, विश्व शिक्षा, वल्र्ड भिजन ईन्टरनेशनल, आरआरपिके र हरिपूर्वा नगरपालिकाको समन्वयमा निर्माण भएको पक्की भवनको सोमबार एक विशेष समारोहकाबीच हरिपूर्वाका नगरप्रमुख मेयर विनोद कुमार साहले समुदघाटन गर्नुभएको हो ।
समावेशी शिक्षा सुदृढीकरण(सिकाई) परियोजना अन्तर्गत कुल ३७ लाख ७६ हजार ८९१ रुपैयाको लागतमा सो भवनको निर्माण कार्य सम्पन्न भएको हो । श्री सोनफी आधारभूत विद्यालय हरिपूर्वा ५ मा निर्माण गरिएको सो २ कोठे आरसीसी विद्यालय भवन सोही विद्यालयलाई हस्तान्तरण गरिएको छ ।
विद्यालयमै भएको विद्यालय भवन हस्तान्तरण कार्यक्रममा बोल्नुहुँदै नगरप्रमुख विनोद कुमार साहले हरिपूर्वा नगरपालिका मुख्य तीन कुराको विकासलाई प्राथमिकतामा राखेर आफूले काम गर्ने बताउनुभयो । ‘यहाँ शिक्षा, स्वास्थ्य र सडक यी तिन कुरालाई हामीले प्राथमिकतामा राखेर काम गर्न चाहेका छौं, र यो हरिपूर्वाको आवश्यकता पनि हो ।’ नगरप्रमुख साहले भन्नुभयो, ‘विद्यालयको शैक्षिक तथा भौतिक सुधारका लागि के के गर्नुपर्छ टिपोट गरेर मलाई दिनुहोस् म अवश्य पनि कार्यान्वय गर्नेछु । ’
उहाँले सो अवसरमा विभिन्न व्यक्तित्वहरुलाई सम्मान समेत गर्नुभएको छ । सो विद्यालयको भवन निर्माणमा मात्रै नभई शिक्षा क्षेत्रमा योगदान दिने महानुभावलाई समेत नगरप्रमुख साहले सम्मान गर्नुभएको थियो ।
