भाइरल पोष्ट, बयलवास ।। सर्लाहीको ईश्वरपुर नगरपालिका १२ को उत्तरी भेगका किसानलाई उन्नत जातको ब्याडे बोका वितरण गरिएको छ । नगरप्रमुख मनोज कुमार आचार्य आफै त्यहाँ पुगेर ब्याडे बोका वितरण गर्नुभएको हो ।
नगरपालिकाको चुरेभेगस्थित शिर फूलजोर र पिपलदमारमा शिलफुलजोर बाख्रापालन कृषक समूह र पिपलदमार बाख्रापालन कृषक समूहलाई चार÷चार वटा जमुनापारी ‘क्रस’ जातको ब्याडे बोका वितरण गरिएको नगरको पशु शाखाले जनाएको छ ।
व्यावसायिक रुपमा बाख्रापालन गर्दै आइरहेका र त्यसैबाट गुजारा टार्ने त्यहाँका किसानको माग अनुसार बाख्रापालनमा थप टेवा पुर्याउने उद्देश्यले नगरपालिकाबाट निःशुल्क अनुदानमा ब्याडे बोका उपलब्ध गराएको नगरप्रमुख आचार्यले बताए ।
उहाँले किसान दाजुभाईलाई ओठमा मुस्कान दिने सानो प्रयास भन्दै सामाजिक सञ्जालमा ब्याडे बोका वितरणको तस्बीर राख्नु भएको छ । जनताको बिचमा खाली हात जानुभन्दा केही न केही योजना लिएर जान मन लाग्ने भन्नुहुँदै उहाँले वडा नम्बर १२ को उत्तरी भेग पशुपालनका लागि उपयुक्त ठाउँ रहेको बताउनुभयो । आफूले आगामी दिनमा पशुपालनका थप योजनाहरु ल्याउने समेत उहाँले बताउनुभयो ।
अनुदानको ब्याडे बोका लिन आएका किसानलाई घाँसको बीउ, नाम्ले र जुकाको औषधि समेत सँगै दिएर पठाइएको नगरपालिकाको पशु शाखाका प्रमुख सिकारी साहले बताउनुभयो । बोका वितरण कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत हिराकाजी श्रेष्ठ समेत पुग्नु भएको थियो ।