भाइरल पोष्ट, बयलवास ।। सर्लाहीको ईश्वरपुर नगरपालिका २ मियाखोरमा पक्की पुल बन्ने भएको छ । पुलको सोमबार नगरप्रमुख मनोज कुमार आचार्यले शिलान्यास गर्नुभएको छ ।
त्यहाँ पुल बन्ने भएपछि मेयर आचार्यको हाईहाई हुन थालेको छ । केही दिनअघि वडा नम्बर १ र ३ जोड्ने बालगंगा खोलामा पक्की पुलको शिलान्यास गर्नुभएका मेयर आचार्यले फेरी पनि अर्को महत्वपूर्ण पक्की पुलको शिलान्यास गर्नुभएको हो । वडा नम्बर २ को मियाँखोर र राईटरखोर जोड्ने पुलको शिलान्यास भएसँगै स्थानीय हर्षित भएका छन् । वडा नम्बर २ का वासिन्दा मात्रै नभई ईश्वरपुर नगरवासीले समेत मेयर आचार्यको प्रसंशा गर्न थालेका छन् । उनीहरुले आफूहरुले ठीक ठाउँमा भोट हालेर काम गर्ने मान्छेलाई नै जिताउन पाएकोमा गौरव महसुस भएको बताएका छन् ।
बर्खाको समयमा वडावासीलाई आवत–जावत गर्न निकै नै समस्या हुने गरेको थियो । त्यहाँ पुल बन्नेभएपछि वडावासीका खुशिले गदगद भएका छन् । अझ नगरप्रमुख मेयर आचार्यले सो पुल २५ दिनभित्र सम्पन्न गराउने वाचा गर्नुभएपछि वडावासी झनै हर्षित भएका छन् । नगरप्रमुख आचार्यले पुलको काम धमाधम गर्न ठेकेदारलाई निर्देशन दिनुभएको छ ।
वडाअध्यक्षसहित अन्य निर्वाचित जनप्रतिनिधि र वडावासीहरुको उपस्थितिमा शिलान्यास गरिएको पुल भ्याटसहित ३९ लाख ८९ हजार ५३२ रुपैयाँ ७२ पैसामा बन्ने भएको हो । सो पुल निर्माणका लागि नगरपालिकाले २०७८ साल चैत्र २९ गते नै मकवानपुर स्थित एमएस अमृता कन्ट्रक्सनसँग सम्झौता गरेको थियो ।
असार २५ गतेसम्म सम्पन्न हुनु पर्ने सो पुलको निर्माण कार्य स्थानीय तहको निर्वाचनका कारण ढिलो गरी सुरु भएको हो ।