भाइरल पोष्ट,काठमाडौं ।। नक्कली शैक्षिक प्रमाणपत्रसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । शैक्षिक प्रमाणपत्रहरु कीर्ते गरी नक्कली बनाई विभिन्न प्रयोजनका लागि पेश गरेको भन्ने सूचनाका आधारमा प्रहरीले तीन जनालाई पक्राउ गरेको हो ।
पक्राउपर्नेहरुमा गोरखा बारपाक सुलिकोट गाउँपालिका–७ घर भई हाल काठमाडौं बनस्थली बस्दै आएका विकाश अमगाई, काभ्रे पनौती नगरपालिका–२ कुसादेवी घर भई हाल काठमाडौं छाउनीमा बस्दै आएका राज कुमार हुमागाई र गोरखा भिमसेन गाउँपालिका–८ घर भई हाल काठमाडौं बनस्थली बस्ने मोहन पुडासैनी रहेका छन् । उनीहरुको साथबाट राज कुमार हुमगाईको नामको ए. ७७६८४१ नम्बरको स्नातक तहको एकेडेमीक ट्रान्सकृफ्ट एक थान र विकाश अमगाईको नामको ए २४२९९६ नम्बरको प्रोफीसीयन्सी सर्टीफीगेट लेभलको एकेडेमीक ट्रान्सकृफ्ट एक थान नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको विषेश प्रहरी टोलिले काठमाण्डौं महानगर–३, महाराजगञ्जबाट नक्कली एकेडेमीक ट्रान्सक्रीप्ट ३ जनालाई नियन्त्रणमा लिएको हो । उनीहरुलाई नक्कली प्रमाणपत्र बनाउने कार्यमा संलगनलाईसमेत काठमाण्डौं बागबजारबाट नियन्त्रणमा लिएको छ ।