भाइरल पोष्ट,विराटनगर ।। पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको विरोधमा यातायात व्यवसायीले आइतबार बिहानैदेखि कोसी लोकमार्ग अवरुद्ध पारेका छन् ।
नेपाल आयल निगमले पेट्रोल, डिजेललगायत इन्धनमा गरेको मूल्यवृद्धिको विरोधमा कोसी लोकमार्गअन्तर्गत विराटनगर महानगरपालिका–३ तथा ४ को राजवंशी चोक र दूध फारमनजिक सवारीसाधन तेर्स्याएर यातायात व्यवसायीले सडकमा अवरोध गरेका हुन् ।
व्यवसायीको आन्दोलनका कारण लामो तथा छोटो दूरीका सवारी साधन सञ्चालन हुन सकेका छैनन् । एम्बुलेन्स लगायत अति आवश्यकीय सवारीसाधनलाई पनि अवरोध गरिएको छ । सार्वजनिक सवारीका सञ्चालकले दुवै तर्फको सडकमा चक्काजाम गरेर सवारीसाधन सञ्चालनमा अवरोध गरेको प्रहरीले जनाएको छ । यातायात व्यवसायीले सरकारले गरेको मूल्यवृद्धि तत्काल फिर्ता हुनुपर्ने माग राखेका छन् । इन्धनमा मूल्यवृद्धि हुँदा सवारीका साधन सञ्चालन गर्न सक्ने अवस्था नभएको उनीहरुको भनाइ छ ।
सरकारले आइतबार राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । मूल्यवृद्धिअनुसार पेट्रोल प्रतिलिटर १९९ र डिजेल–मट्टितेलको मूल्य प्रतिलिटर १९२ रुपैयाँ पुगेको छ । सवारीसाधनमा अवरोध गरिएको स्थानमा अहिले ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको । सुरक्षाकर्मीले बल प्रयोग गरेर सडक खुलाउने प्रयास गरिरहेका छन । त्यस क्रममा प्रहरीले ४ जना सवारी चालकलाई पनि नियन्त्रणमा लिएको छ ।
आन्दोलनरत पक्षलाई सम्झाईबुझाई गरेर अवरुद्ध सडक सञ्चालनमा ल्याउने प्रयास भइरहेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले बताए । यातायात सञ्चालनमा थप अवरोध गर्नेलाई कारबाहीको दायरामा ल्याइने उनको भनाइ छ ।