भाइरल पोष्ट, मलंगवा ।। जिल्ला समन्वय समिति सर्लाहीको प्रमुखमा नेपाली काँग्रेसका कौशल किशोर सिंह र उपप्रमुखमा नेकपा माओवादी केन्द्रका जितेन्द्र कुमार महतो निर्विरोध निर्वाचित हुनुभएको छ ।
जिसस प्रमुखमा निर्वाचित सिंह बलरा नगरपालिका १ र महतो मलंगवा नगरपालिका ८ का वडा सदस्य हुनुहुन्छ ।
प्रमुख र उपप्रमुखसहित ९ सदस्यीय जिल्ला समन्वय समितिको लागि शुक्रबार मनोनयन दर्ताका क्रममा प्रमुखमा सिंह र उपप्रमुखमा महतोको मात्रै उमेदवारी परेपछि उहाँहरु निर्विरोध निर्वाचित हुनुभएको हो । त्यस्तै अन्य ७ जना सदस्यहरु पनि निर्विरोध निर्वाचित भएको जिल्ला निर्वाचन अधिकारी दिवाकर भुजेलले जानकारी दिनुभयो ।
निर्वाचन अधिकारी भुजेलले दिनुभएको विवरण अनुसार जिससका ७ जना सदस्य मध्ये काँग्रेसका तर्फबाट ६ जना क्रमशः हरिपुर नगरपालिका ५ का अलाउदिन मियाँ, लालबन्दी नगरपालिका १७ का राम बहादुर बम्जन, गोडैता नगरपालिका ६ की सोनावती देवी बैठा, ईश्वरपुर नगरपालिका १५ की पासपति देवी थरुनी, हरिपूर्वा नगरापलिका ५ कि रामशिला कुमारी यादव र चक्रघट्टा ४ की रेखादेवी रहनुभएको छ । त्यस्तै माओवादी केन्द्रका तर्फबाट जिसस सदस्यमा लालबन्दी नगरपालिका १५ का वडा सदस्य हेम बहादुर कार्की निर्विरोध निर्वाचित हुनुभएको छ ।
जिसस गठनका लागि जिल्लामा नेपाली काँग्रेसको एकल बहुमत भएपनि उसले माओवादी केन्द्रसँग तालमेल गरेको हो । आफूहरुको एकल बहुमत भएपनि केन्द्रीय सर्कुलर अनुसार नै तालमेल गर्नुपरेको नेपाली काँग्रेस सर्लाहीका सभापति सुरेन्द्र कुमार सिंहले जानकारी दिए । तालमेल अनुसार ९ सदस्यसीय जिससमा माओवादी केन्द्रलाई एक उपप्रमुख र एक सदस्य पद दिएको र नेपाली काँग्रेसले १ प्रमुख र ६ जना सदस्य लिएको सभापति सिंहले बताए ।
वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा जिल्लाका २० पालिका मध्ये काँग्रेसले १२ पालिकामा प्रमुख र ११ पालिकामा उपप्रमुख जितेको थियो । त्यस्तै माओवादी केन्द्रले ४ पालिकामा प्रमुख र ४ पालिकामै उपप्रमुख जित्दा एमालेले एक प्रमुख र दुई उपप्रमुख जितेको थियो । त्यस्तै जनता समाजवादी पार्टीले दुई प्रमुख, दुई उपप्रमुख जित्दा लोसपाले एक प्रमुख र एक उपप्रमुख जितेको थियो ।
यसरी जिसस गठनका लागि काँग्रेससँग १२ प्रमुख र ११ उपप्रमुख गरी २३ मत थियो भने बाँकी सबै दलका गरी १७ मत थियो ।