भाइरल पोष्ट, हरिवन ।। सर्लाहीको हरिवन नगरपालिका ४ पटौनामा फुटवल मैदान निर्माण हुने भएको छ । मधेश प्रदेश अन्तर्गतको महिला, बालबालिका, यूवा तथा खेलकुद मन्त्रालयको २० लाखको लागतमा त्यहाँ अन्तर्राष्ट्रिय मापदण्ड अनुसारकै फुटबल मैदान बन्न लागेको हो ।
हरिवन नगरपालिका १ र ४ को सिमामा पर्ने गणेशस्थान मन्दिर छेउमै बन्न लागेको सो फुटबल मैदानको सोमबार हरिवन नगरपालिकाका मेयर रमेश बुढाथोकी, उपमेयर हरिमाया घलान, हरिवन १ का वडा अध्यक्ष टम बहादुर घिसिङ, ४ का वडा अध्यक्ष केशवराज थापा, काँग्रेस मधेश प्रदेश कमिटी सदस्य एवम् हरिवन नगरकी उपमेयर प्रत्यासी उमेदवार सोनी कुमारी बोम्जन, नेकपा एमाले हविन नगरकमिटी अध्यक्ष सिताराम पोखरेल र पटौनावासीको सहभागितामा शिलान्यास गरिएको हो ।
खेल मैदान निर्माण उपभोक्ता समितिका अध्यक्ष पर्मिला उप्रेतीको अध्यक्षतामा खेल खेल मैदानको शिलान्यास भएको हाम्रो कृषि सहकारी संस्थाका अध्यक्ष एवम् पटौनाका यूवा तिलक खड्काले बताउनुभयो । खड्काका अनुसार विनियोजित बजेटले खेल मैदानमा कम्पाउण्ड वाल निर्माण गरिनेछ । त्यसैगरी मैदानमा आवश्यक गोलपोष्ट, जाली समेत लगाईने छ ।
वडामा एउटा स्तरी खेल मैदान नहुँदा खेलाडीहरुलाई समस्या भएपछि आफूहरुले मधेश प्रदेश सरकारका महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्री विरेन्द्र सिंहलाई खेल मैदानको लागि आवश्य बजेट विनियोजन गरिदिन आग्रह गरेपछि नेपाली काँग्रेस मधेश प्रदेशका उपसभापति समेत रहनुभएका मन्त्री सिंहले आवश्यक बजेट विनियोजन गरिदिनुभएको पटौनाका यूवा खड्काले बताउनुभयो । उहाँले पटौनामा खेल मैदानका लागि बजेट विनियोजन गर्नमा काँग्रेस नेतृ सोनी कुमारी बम्जनको पनि अहम भूमिका रहेको बताउनुभयो ।
खेल मैदानको शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै हरिवन नगरपालिकाका मेयर रमेश बुढाथोकी(कमल)ले प्रदेश सरकारबाट विनियोजित बजेटमा अपुग भए नगरपालिकाले थप गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले यूवाहरुलाई खेलकुदमा प्रोत्साहन गर्न हरिवन नगरपालिकाले पनि खेल मैदानहरुको निर्माणमा प्राथमिकता दिने बताउनुभयो ।