भाईरल पोष्ट, लालबन्दी ।। नेपाली उपभोक्ता संरक्षण महासंघले मधेश प्रदेशका जिल्ला संयोजक तथा एसोसियट मेम्बरहरुलाई जिम्मेवारी हस्तान्तरण तथा प्रमाण पत्र वितरण गरेको छ ।
बजारमा नेपाली उपभोक्तालाई नकारात्मक असर पार्ने कार्यहरु विरुद्ध जनमतद्वारा खबरदारी गर्ने गराउने उदेश्यका साथ स्थापित महासंघले मधेश प्रदेशका बारा, पर्सा र महोत्तरी जिल्लाका जिल्ला संयोजक तथा अन्य एसोसियट सदस्यहरुलाई प्रमाणपत्र प्रदान गर्दै जिम्मेवारी सुम्पेको हो ।
लालबन्दीस्थित केही दिन अघि सञ्चालनमा आएको संघको मधेश प्रदेश सम्पर्क कार्यालयमा एक कार्यक्रमको आयोजना गरी संघका मधेश प्रदेश संयोजक प्रमोद प्रसाद थपलियाले बाराका जिल्ला संयोजक सुरजलाल जोशी, पर्साका शिवेन्द्र कुमार चौधरी र महोत्तरीका श्याम सुन्दर राय कुर्मीलाई जिम्मेवारी हस्तान्तरण गर्दै प्रमाण पत्र प्रदान गर्नुभयो ।
त्यसैगरी एसोसियट सदस्यहरुलाई समेत प्रदेश संयोजक थपलियाले जिम्मेवारी प्रदान गर्नुभएको छ । उहाँका अनुसार केन्द्रले गएको जेठ ६ गते आफूलाई मधेश प्रदेश संयोजक तोकी पठाएसँगै प्रदेशका जिल्लाहरुमा संघको जिल्ला शाखाहरु धमाधम गठन भईरहेको छ । उहाँले अहिले सम्म सर्लाहीसहित बारा, पर्सा र महोत्तरीको जिल्ला शाखा गठन भई जिम्मेवारी समेत हस्तान्तरण गरिसकिएको भन्दै उहाँले प्रदेशका बाँकी चार जिल्लामा पनि छिट्टै नै शाखा गठन गरिने जानकारी दिनुभयो ।
आठओटै जिल्लामा शाखाहरु विस्तार भईसकेपछि लालबन्दीमा नै एक वृहद कार्यक्रमको आयोजना गरी संघको प्रदेश सम्मेलन गरिने संयोजक थपलियाले बताउनुभयो ।