भाईरल पोष्ट, चन्द्रनगर ।। सर्लाहीको चन्द्रनगर गाउँपालिकाले १२ कक्षा पास भएका २० वर्ष पुरा गरी विवाह गर्न चाहने छोरीहरुलाई आगामी साउन १ गतेबाट ५० हजार रुपैयाँ दिने भएको छ ।
गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनबाट गाउँपालिका अध्यक्षमा विजयी हुनुभएका समाजसेवी राजकुमार महतोले पदभार ग्रहण गर्नुहुँदै गाउँपालिका भित्रका स्थानीय छोरीहरु जसले १२ कक्षा पास भई २० वर्ष पूरा गरी विवाह गर्न चाहान्छन् उनीहरुलाई जनही ५० हजार रुपैया दिने निर्णय गर्नुभएको थियो । गाउँपालिका अध्यक्ष महतोले गर्नुभएको निर्णयलाई जेठ २४ गते बसेको गाउँकार्यपालिकाको पहिलो बैठकले अनुमोदन गरेको छ ।
सो निर्णय आगामी साउन १ गते देखि नै लागू हुने गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९÷८० को बजेट मै सो सम्बन्धी व्यवस्था गर्ने र आवश्यक रकम विनियोजन गर्ने गाउँपालिका अध्यक्ष राजकुमार महतोले बताउनुभयो ।
आफूले स्थानीय छोरीहरुलाई १२ कक्षा पास गरी २० वर्ष पुगेर विवाह गर्दा ५० हजार अनुदान दिने गरेको निर्णय नै गाउँपाकार्यपालिकाको बैठकले अनुमोदन गरेको बताउनुभयो । उहाँले आफ्नो निर्णयबाट उत्साहित हुँदै गाउँपालिका भित्रका शिक्षकहरुले दिनुभएको सूझावलाई मनन गर्दै स्नातक तहमा भर्ना हुने छोरीहरुलाई थप ११ हजार रुपैया अनुदान निर्णय समेत भएको बताउनुभयो ।
नेपाल शिक्षक महासंघका चन्द्रनगर अध्यक्ष सरोज कुमार सिंहले गाउँपालिका अध्यक्ष राजकुमार महतोको निर्णयले आम छोरीहरुमा उत्साह छाएको बताउनुभयो । उहाँले गाउँपालिका अध्यक्षको यो निर्णयले छोरीको शिक्षामा गाउँपालिकाले छलाङ्ग मार्ने विश्वास व्यक्त गर्नुभयो ।
‘अध्यक्षज्यूले १२ कक्षा पास गरी २० वर्ष पुरा गरेर विवाह गर्न चाहे ५० हजार दिने निर्णय गर्नुभयो । मैले पनि शिक्षक महासंघको अध्यक्षको हैसियतले यदि छोरीहरुले २० वर्ष पनि पूरा गरे १२ पनि पास गरे तर विहे नगरी स्नातक तह पढ्न चाहे थप अनुदान उपलब्ध गराउन अनुरोध गरें यो सुझावलाई सकारात्मक रुपमा स्वीकार गर्दै अध्यक्षज्यूले पास गर्नुभएको छ ।’,शिक्षक महासंघका अध्यक्ष सिंहले भन्नुभयो,‘अब स्नातक तहमा भर्ना भएका छोरीहरुले थप ११ हजार अनुदान पाउनेछन् ।’