भाईरल पोष्ट, हरिवन ।। सर्लाहीको हरिवनमा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी, अव्यवस्थित वसोवासीहरुको पुनः तथ्यांक संकलन गरिने भएको छ ।
नगरप्रमुख रमेश बुढाथोकी कमलको अध्यक्षतामा बसेको वैठकले यसअघि संकलन भएका तथ्यांकमा छुटफुट भएकाहरुको पुनः सूचना निकोलेर तथ्यांक संकलन गर्नेसहित विभिन्न ४ ओटा निर्णयहरु गरेको हो ।
नगरपालिकाकी उपप्रमु हरिमाया घलान, प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र प्रधान, राष्ट्रिय भूमि आयोगका जिल्ला अध्यक्ष चन्द्र प्रसाद वाग्ले, सचिव मदन विश्वकर्मा, सदस्य अन्जु पौडेल, हरिवन १० का वडाअध्यक्ष कोकिलानन्द उप्रेती, २ का अर्जुन योन्जन, ४ का केशव थापा, ५ का नागेन्द्र कुमार साह, ७ का निरध्वज कार्की, ८ का प्रज्वल ढुंगाना, ११ का शेख मेहबुब रेजालगायतको उपस्थितिमा भएको बैठकले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी, अव्यवस्थित बसोवासी र अधुरा अपुरा काम सम्पन्न गर्न आगामी आर्थिक वर्ष ०७९÷८० को बजेट तथा कार्यक्रममा आवश्यक बजेटको व्यवस्था गर्ने, नगरपालिका भित्रको जग्गा नापजाँचको लागि अवाश्यक प्राविधिक कर्मचारी व्यवस्था गर्ने निर्णय भएको छ ।
त्यस्तै सेवा केन्द्र सञ्चालनको लागि दोहोरो भूमिका नरहने गरी आवश्यक कर्मचारी व्यवस्थापन गर्ने र भूमि सम्बन्धी समस्या समाधानको लागि नगरपालिकामा साविकमा गठन भएको राष्ट्रिय भूमि आयोग २०७८ को कार्यविधि अनुसार वडा तथा नगरस्तरीय समिति पुर्नगठन गरी यथाशिघ्र कार्य अघि बढाउने निर्णय समेत भएको राष्ट्रिय भूमि आयोगका सर्लाही सचिव मदन विश्वकर्माले जानकारी दिनुभयो ।