राजु लो, हरिवन ।। किशोरीहरुलाई महिनावारी स्वास्थ्य र सरसफाईबारे संवेदनशील बनाउन जिल्लाको दक्षिण पूर्वी पालिकाहरु महिनावारी स्वच्छता सम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको छ ।
बालस्पोन्सरसीप परियोजना अन्तर्गत हरिवनस्थित बागमती सेवा समाज नेपालले वल्र्ड भिजिन ईन्टरनेशनलको साझेदारीमा जिल्लाको हरिपूर्वा नगरपालिका र पर्सा गाउँपालिकाका किशोरीहरुको सहभागितामा महिनाबारी स्वच्छता सम्बन्धी दुई हप्ते अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको हो ।
बागमती सेवा समाजका स्पोन्सरसीप क्वालिटी नियन्त्रण अधिकृत रजना श्रेष्ठ भन्नुहुन्छ्, ‘महिनावारी जीवनको एक सामान्य प्रक्रिया हो तर अझैसम्म पनि समुदायमा महिनावारी स्वच्छता सम्बन्धी अभ्यासमा किशोरी तथा महिलाहरुले धेरै किसिमका अवरोधहरुको सामना गर्दै आएका छन् ।’ अधिकृत श्रेष्ठ थप्नुहुन्छ, ‘किशोरीकिशोरीको यौन स्वास्थ्य सम्बन्धी शिक्षामा प्रजनन् स्वास्थ्य वा मासिक महिनावारी स्वास्थ्यमा निरन्तर पहुँछ छैन । भएका शिक्षकहरु पनि यस विषय सम्बन्धी खुलेर छलफल गर्न धक मान्छन् भने विद्यार्थीहरु पनि शिक्षकहरुसँग लाज मान्ने गर्छन् । अभिभावकहरुले पनि जानेका कुरा तथा अनुभवहरु आफ्ना बालबालिकासँग छलफल गर्ने अभ्यास निकै नै कम छ । जसले गर्दा कति बेला के गर्ने, के नगर्ने भनेर नजान्दा किशोरकिशोरीहरुले विभिन्न किसिमका शारीरिक तथा मानसिक तनाव झेल्नु परेको छ ।’
महिनावारी स्वच्छता सम्बन्धी त्यहाँका २० जना किशोरीहरुलाई तीन दिनको तालिम दिएको जानकारी दिनुहुँदै बागमती सेवा समाजका परियोजना संयोजक प्रमेश वादेले भन्नुभयो,‘तालिम पश्चात विद्यालयमा अध्ययनरत तथा अन्य किशोरीहरु, महिलाहरु स्वयमले पनि महिनावारी स्वच्छता सम्बन्धी अभिमुखीकरण थालेका छन् । जसबाट किशोरीहरुले व्यक्तिगत सरसफाई अध्यासबारे थाहा पाईरहेका छन् ।’
परियोजना संयोजक बादेले तालिमबाट किशोरीहरुमा महिनावारी स्वास्थ्य व्यवस्थापन सम्बन्धी सीप वृद्धि हुने, महिनावारीका कारण लाग्ने विभिन्न शारीकि रोगबाट जोगिन सक्षम हुने तथा किशोरीहरुको मनोसामाजिक सु–स्वास्थ्यमा सुधार भई दैनिकी सहजता आउने बताउनुभयो ।
तालिमबाट सो दुई पालिकाका झण्डै तीन हजार २ सय किशोरी तथा महिलाहरु लाभान्वित हुने आयोजकले बताएको छ ।