भाइरल पोष्ट, लालबन्दी ।। विश्व वातावरण दिवस ः लालबन्दीमा खानेपानी संस्थाले रोप्यो विभिन्न जातका विरुवा
भाइरल पोष्ट, लालबन्दी ।। लालबन्दीमा ६० भन्दा बढी विभिन्न जातका वृक्षारोपण गरी विश्व वातावरण दिवस मनाइएको छ ।
खानेपानी उपभोक्ता तथा सरसफाई संस्था लालबन्दीले आयोजना गरेको वृक्षारोपण तथा सचेतना अभिवृद्ध कार्यक्रम अन्तर्गत संस्थाकै प्राङ्गणमा आँप, लिच्ची, कटहर, नरिवल, सुपारी लगायत विभिन्न जातका ६० बढी विरुवा रोपी दिवस मनाइएको हो ।
संस्थाका संस्थापक अध्यक्ष एवम् जेष्ठ सदस्य समाजसेवी दिनबन्धु थापाको अध्यक्षता तथा लालबन्दी नगरपालिकाका प्रमुख मेयर बासुदेव अधिकारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा उपमेयर कल्पना पाख्रिन विशिष्ट अतिथी हुनुहुन्थ्यो ।
सो अवसरमा प्रमुख अतिथी अधिकारी, विशिष्ट अतिथी पाख्रिनसहित वडा नम्बर १३ का वडाअध्यक्ष शिवकृष्ण वैद्य, ५ का वडाअध्यक्ष राम प्रसाद ढुंगेल, काँग्रेस नेता दिपक अधिकारी, नारायण गुर्मछान लगायतले विभिन्न जातका विरुवा रोप्नु भएको थियो ।
प्रयोग गरौं स्वच्छ पानी, स्वस्थ राखौं जिन्दगानी, रुख विरुवा रहे पानी, पानी रहे हामी भन्ने मूल नाराका साथ खानेपानी उपभोक्ता संस्थाले वातावरण दिसव सम्बन्धी कार्यक्रमको आयोजना गरेको संस्थाका लेखा प्रमुख एवम् सूचना अधिकारी ठाकुर प्रसाद बख्रेल(मनोज)ले जानकारी दिनुभयो ।
कार्यक्रममा बोल्नुहुँदै प्रमुख अतिथि लगायतका वक्ताहरुले जल विनाको जीवन सम्भव नभएको र जल जोगाउन वातावरण तथा पर्यावरण जोगाउनु आवश्यक रहेको धारणा व्यक्त गर्नुभएको थियो ।
यस वर्ष विश्व वातावरण दिवसको नारा ‘केवल एउटा पृथ्वी’ भन्ने राखिएको थियो । यो दिवस हरेक वर्ष जुन ५ का दिन विश्वभर मनाईने गरिएको छ । वातावरणप्रति विश्वभर सचेतना जगाउने उद्देश्यअनुसार संयुक्त राष्ट्र सङ्घको आह्वानमा सन् १९७३ देखि यो दिवस मनाउन थालिएको हो ।