भाईरल पोष्ट, काठमाण्डौ ।। ‘जलवायु परिवर्तन’ नाराका साथ आयोजित कान्तिपुर हाफ म्याराथनको ३ किलोमिटरको ह्विलचियर रेसमा सर्लाहीका दान बहादुर थिङ्ग तेश्रो हुनुभएको छ ।

सो म्याराथनको दसौं संस्करण अन्तर्गत शनिबार भएको दौडमा सर्लाही लालबन्दी नगरपालिका १५ देउरालीका थिङ्ग तेश्रा हुनुभएको हो । थिङ्गले १० हजार नगद पुरस्कार प्राप्त गर्नुभएको छ ।
उक्त दौडमा रमेश खत्री प्रथम भएका छन् । खत्रीले १२ मिनेट ३२ सेकेन्डमा निर्धारित दूरी पार गर्नुभएको थियो । यस्तै प्रेमबहादुर विक द्वितीय हुनुभएको छ । उहाँले १४ मिनेट ८ सेकेन्डमा निर्धारित दुरी पार गर्नुभएको थियो । त्यस्तै तेश्रो हुनुभएका सर्लाहीका थिङले १४ मिनेट १५ सेकेन्डमा निर्धारित दुरी पार गर्नुभएको थियो ।
ह्विलचेयर रेसकै महिलातर्फ भने यामी झाक्री मगर पहिलो र रजनी राई दोस्रो हुनुभएको छ । शारीरिक रूपमा फरक क्षमता भएकाहरूका लागि ह्विलचियर दौड निकै रोचक हुने गर्छ । यो रेसमा पहिलो, दोस्रो र तेस्रो हुनेले ३० हजार, २० हजार र १० हजार प्राप्त गर्नुभएको छ ।
दौडको सुरुआती र अन्तिम बिन्दु कान्तिपुर पब्लिकेशन्सको केन्द्रीय कार्यालय थापाथलीस्थित सेन्ट्रल बिजनेस पार्क थियो । ह्विलचियर रेस थापाथलीबाट सुरु भएर माइतीघर मण्डला, बिजुलीबजारबाट घुमेर पुनः थापाथलीमै आएर सकिएको थियो ।