भाईरल पोष्ट, हरिवन ।। हाम्रो कृषि सहकारी संस्था लि.पटौनाले हरिवन नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान गरेको छ ।
हरिवन ४ पटौनास्थित संस्थाकै प्राङ्गणमा एक कार्यक्रमको आयोजना गरी संस्थाले नवनिर्वाचित मेयर रमेश बुढाथोकी(कमल), उपमेयर हरिमाया घलान, वडा नम्बर ४ का वडाअध्यक्ष केशव थापा(बाबु) लगायत नवनिर्वाचित जनप्रतिनिधिहरुलाई सम्मानपत्रसहित अबीर र माला लगाई सम्मान गरेको हो ।
संस्थाका अध्यक्ष तिलक बहादुर खड्काको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथी मेयर रमेश बुढाथोकी(कमल) हुनुहुन्थ्यो । त्यस्तै उपमेयर हरिमाया घलान, वडा नम्बर ४ का वडाअध्यक्ष केशव थापा(बाबु),२ का वडाअध्यक्ष अर्जुन योन्जन, १ का वडाअध्यक्ष टम बहादुर घिसिङ र अन्य वडाअध्यक्षहरु विशिष्ट अतिथि हुनुहुन्थ्यो भने निर्वाचित वडासदस्यहरु अतिथि हुनुहुन्थ्यो ।
कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नवनिर्वाचित मेयर रमेश बुढाथोकी(कमल)ले हरिवन नगरको समृद्धिको सबैको साथ र सहयोग आवश्यक हुने बताउनुभयो । उहाँले आफूले सबैलाई समेटेर, सबैको मन जितेर काम गर्न चाहेको बताउनुहुँदै मेयर बुढाथोकीले अजोज–कार्तिक सम्ममा हरिवनवासीले विकासको महसुस गर्न पाउने बताउनुभयो । उहाँले आफूहरुलाई सम्मान गर्ने हाम्रो कृषि सहकारी संस्थालाई धन्यवाद व्यक्त गर्नुभयो ।
त्यस्तै हरिवन ४ का वडाअध्यक्ष केशव थापा(बाबु)ले वडाका विकास निर्माणका विषयमा आफूले पहिलेदेखि नै बोल्दै आएकोले अब पदमा पुगेर चुप लागेर नबस्ने बताउनुभयो । उहाँले वडावासीको चाहाना अनुसार उपलब्ध स्रोत र साधनको भरपूर प्रयोग गरी वडाको विकासमा कटिबद्धभई लाग्ने बताउनुभयो ।
कार्यक्रममा रेडियो सर्लाहीका अध्यक्ष भरत कुमार कार्की, धर्मगुरु वीर बहादुर महत, हाम्रो कृषि सहकारी संस्थाका पदाधिकारी, कर्मचारी तथा स्थानीयवासीहरुको उपस्थिति रहेको थियो ।