अम्बिका बुढाथोकी, लालबन्दी ।। नेपाल शिक्षक संघ लालबन्दीले यहाँका मेयर उपमेयरलाई स्वागत तथा सम्मान गरेको छ । नेपाल शिक्षक संघका लालबन्दी नगर सभापति टिकाराम श्रेष्ठको अध्यक्षता तथा नेपाली काँग्रेसका नेता एवम् पूर्व मन्त्री शम्भुलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा शनिबार एक कार्यक्रमको आयोजना गर्दै संघले लालबन्दीका मेयर बासुदेव अधिकारी, उपमेयर कल्पना पाख्रिन र विभिन्न वडाका वडाअध्यक्षहरुलाई सम्मान गरेको हो ।
कार्यक्रममा बोल्नुहुँदै नवनिर्वाचित मेयर वासुदेव अधिकारीले आफू दलगत स्वार्थ भन्दा माथि उठेर सिङ्गो लालबन्दीलाई एक ढिक्का बनाए अघि बढ्न चाहेको बताउनुभयो । यहाँले नगरको शिक्षा गुणस्तर युक्त बनाउने, स्वास्थ्यमा विशेषज्ञ सेवा प्रवाह गर्ने प्रतिबद्धता व्यक्त व्यक्त गर्नुभयो ।
नगरको बजेटले अपुग भए केन्द्र र प्रदेशबाट विभिन्न योजनाहरु ल्याएर भएपनि लालबन्दीवासीको विकासको चाहना पुरा गर्ने उहाँले बताउनुभयो । यसका लागि एकाकार भएर अघिबढ्न आग्रह गर्नुभयो ।
त्यस्तै उपमेयर कल्पन पाख्रिनले ५ वर्ष सम्म सवै संग हातेमालो गरेर अघि बढ्नुका सथै सवै क्षेत्रको बिकासमा लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । लालबन्दी ८ का नवनिर्वाचित वडाध्यक्ष शुक्र लामाले लालबन्दीको बिकासका लागि स्वास्थ्यमा लगानी गर्न आवश्यक रहेको बताउनुभयो । उहँले अन्य पूर्वाधारको क्षेत्रमा कामगर्दै गए पनि स्वास्थ र शिक्षा प्रमुख प्रमुख प्राथमिकतामा रहनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा प्रमुख अतिथी समेत रहनुभएका नेपाली कांग्रेसका नेता एवम् पूर्व मन्त्री शम्भु लाल श्रेष्ठले लालबन्दीलाई आर्थिक हबको रूपमा बिकास गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले शिक्षा, स्वास्थ्यसंगै सडक पूर्वाधारको बिकासमा नवनिर्वाचित जनप्रतिनिधिले ध्यान केन्द्रीत गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले लालबन्दीलाई आर्थिक र शैक्षिक केन्द्रको रूपमा बिकास गर्न राजनीति हस्तक्षेपबाट मुक्त राख्नु पर्नेमा जोड दिनुहुँदै काभ्रे, सिन्धुली र सर्लाही जोड्ने मंगलटार लालबन्दी बाटोको बिकासका लागि एक ढिक्का भएर लाग्न आग्रह गर्नुभयो ।
कार्यक्रममा लालबन्दी १ देखि १७ वडा सम्मका वडाध्यक्षलाई शिक्षक संघले खादा तथा माला लगाएर सम्मान गरेको थियो । कार्यक्रममा नेपाल शिक्षक संघका जिल्ला अध्यक्ष यमनाथ उप्रेती, नेपाली काँग्रेस सर्लाही क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति हरि लुंगेली, नेपाल शिक्षक संघमा आवद्ध शिक्षकशिक्षिकाहरुको उपस्थिति रहेको थियो ।