सोम दियाली, लालबन्दी ।।
आर्थिक वर्ष २०७९÷८० मा संघीय सरकारले सर्लाहीमा झण्डै सवा ७ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ । जेठ १५ गते भएको बजेट भाषणमा सर्लाहीका २० ओटा पालिकाले ७ अर्व १८ करोड १५ लाख रुपैयाँ बजेट पाएका हुन् ।
संघीय सरकारका अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०७९÷८० मा सर्लाहीमा सबैभन्दा बढी बजेट लालबन्दी नगरपालिकाले पाएको छ भने सबैभन्दा कम हरिपूर्वा नगरपालिकाले पाएको छ ।
गत आर्थिक वर्षमा पनि सबैभन्दा बढी बजेट पाएको लालबन्दी नगरपालिकाले यस आर्थिक वर्षमा पनि सबैभन्दा बढी ६४ करोड ४ लाख बजेट पाएको छ । त्यस्तै हरिपूर्वा नगरपालिकाले ३१ करोड ३२ लाख रुपैयाँ बजेट पाएको छ ।
११ नगरपालिका र ९ गाउँपालिका रहेको सर्लाहीमा सबैभन्दा धेरै बजेट पाउने गाउँपालिकामा विष्णु गाउँपालिका परेको छ भने सबैभन्दा कम बजेट पाउने गाउँपालिका पर्सा गाउँपालिका रहेको छ ।
विष्णु गाउँपालिकाले ३० करोड ६२ लाख रुपैयाँ बजेट पाउँदा पर्सा गाउँपालिकाले २० करोड ७५ लाख रुपैयाँ बजेट पाएको छ ।
त्यसैगरी अन्य पालिकाहरुले पनि यस आर्थिक वर्षमा राम्रै बजेट पाएका छन् । जिल्लाको हरिवन नगरपालिका यस वर्ष पनि दोश्रो नम्बरमा परेको छ । हरिवनमा संघीय सरकारले ५७ करोड ७७ लाख बजेट विनियोजन गरेको छ । त्यसैगरी तेश्रो नम्बरमा ईश्वरपुर नगरपालिकाले ४७ करोड ३९ लाख, बरहथवा नगरपालिकाले ४७ करोड २५ लाख, गोडैता नगरपालिकाले ४५ करोड ३२ लाख, मलंगवा नगरपालिकाले ४३ करोड ८१ लाख, बलरा नगरपालिको ४० करोड ७९ लाख, बागमती नगगरपालिकाले ३८ करोड ४२ लाख, कविलासी नगरपालिकाले ३७ करोड २९ लाख, र हरिपुर नगरपालिकाले ३२ करोड ४२ लाख बजेट पाएको छ ।
त्यसैगरी गाउँपालिका तर्फ विष्णु पछि दोश्रोमा कौडेना गाउँपालिकाले २९ करोड ६४ लाख, तेश्रोमा ब्रह्मपुरी गाउँपालिकाले २९ करोड ४१ लाख बजेट पाएको छ । त्यसैगरी चन्द्रनगर गाउँपालिकाले २६ करोड ७० लाख, गत आर्थिक वर्षमा सबैभन्दा कम बजेट पाएको बसवरिया गाउँपालिकाले यस आर्थिक वर्षमा २५ करोड ५० लाख रुपैयाँ बजेट पाएको छ । त्यसैगरी रामनगर गाउँपालिकाले २३ करोड ३१ लाख बजेट पाएको छ भने धनकौल गाउँपालिकाले २३ करोड ४ लाख बजेट पाएको छ ।
यसरी यस आर्थिक वर्षमा सर्लाहीमा सबै गाउँपालिकाहरु गरी कुल ७ अर्ब १८ करोड १५ लाख रुपैयाँ बजेट आएको हो । अब असार १० गते प्रदेश सरकारले बजेट भाषण गर्दैछ । प्रदेश सरकारले सर्लाहीमा कति बजेट पठाउँछ त्यो भने हेर्न बाँकी छ ।
त्यसपछि असार १५ गते पालिकाहरुले आ–आफ्नो पालिकाको बजेट ल्याउनेछन् । पालिकाले संघ र प्र्र्रदेशबाट विनियोजन भएको बजेटमा आन्तरीक र स्थानीय आम्दानी समेतको आंकलन गरी बजेट ल्याउने गरेका छन् ।