भाईरल पोष्ट, ईश्वरपुर
ईश्वरपुर नगरपालिकाका मेयर मनोज कुमार आचार्यले आफू नगरका ७० हजार जनताको मेयर भएपछि मात्रै घरघर गएर माला लगाउने बताउनुभएको छ ।
एकपछि अर्को गर्दै नगरमा विकास निर्माणको कामलाई तिब्रता दिनुभएका मेयर आचार्यले बुधबार नगरको वडा नम्बर १ र ३ जोड्ने बालगंगा खोलामा बन्ने पक्की पुलको शिलान्यासपछि पत्रकारहरुसँग यस्तो बताउनुभएको हो ।
‘धेरै साथीहरु रिसाई रहनुभएको छ । माला लगाउनलाई आत्तुर हुनुहुन्छ । विजय जुलुस मनाउन आत्तुर हुनुहुन्छ । म मैले घरघर गएर माला लगाउन लायक काम गरेर मात्रै जान्छु भन्ने सोचेर विकास निर्माणको कामलाई नै तिब्रता दिई रहेको छु ।’ मेयर आचार्यले भन्नुभयो, ‘मलाई यस्तो लाग्छ म ८ हजार ५ सय मत ल्याएर मात्रै म नगरप्रमुख हुँदिन । मैले मेयर हुनलाई नगरका ७० हजार जनताको मन जितेर काम गर्नुपर्छ । म सोही अनुसार ७० हजार जनताको मेयर बन्ने हिसावले काम गरिरहेको छु ।’
मेयर आचार्यले शुक्रबार पदभार सम्हालेकै दिन नगरका ७० वर्ष नाघेका जेष्ठ नागरीक र असाहय व्यक्तिहरुलाई निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने महत्वपूर्ण निर्णय गर्नुभएको थियो । त्यस्तै उहाँले सोही दिन नगरको वडा नम्बर ६ मा रहेको अस्पतालको उद्घाटन समेत गर्नुभएको थियो । त्यसपछि उहाँले क्रमशः युवाहरुलाई खेलमा प्रोत्साहन गर्नभन्दै बयलवासमा मिनी रंगशाला निर्माण गर्ने घोषणा गर्नुभएको थियो ।
उहाँले बलयवास बजारमा जीर्ण सडकहरु तत्काल मर्मत गर्नका लागि निर्माण व्यवसायीहरुलाई बोलाएर आवश्यक निर्देशन दिई सक्नुभएको छ । त्यस्तै भक्तिपुरसहित नगरका विभिन्न वस्तीहरुमा सडक तथा नाला निर्माणको कामलाई तिब्रता दिनुभएको छ । त्यसैगरी उहाँले श्रीनगरको एकबस्तीमा खानेपानीको प्रवन्ध मिलाउन लगाउनुभएको छ ।
उहाँले नगरमा विकासको यात्राले गति लिएकोले विकास निर्माणको कार्यमा अवरोध नगरी सहयोग गर्न नगरवासीलाई आग्रह गर्नुभएको छ । विकास निर्माणको काममा अवरोध गरे फेरी पनि पछि परिने भएकोले दिलखोलेर सहयोग गर्न आग्रह गर्नुभएको छ ।