सोम दियाली, ईश्वरपुर ।। सर्लाहीको ईश्वरपुर नगरपालिकाका मेयर मनोज कुमार आचार्यले एकपछि अर्को गर्दै लोकप्रिय काम गर्न थाल्नु भएको छ । शुक्रबार मात्रै मेयरको पदभार सम्हाल्नु भएका मेयर आचार्यले बुधबार नगरको वडा नम्बर १ र ३ जोड्ने बालगंगा खोलामा पक्की पुलको शिलान्यास गर्नुभएको छ ।
बुधबार विहान वडा नम्बर १ र ३ का स्थानीयवासी, वडाअध्यक्ष तथा सदस्यहरु, पार्टीका प्रतिनिधिहरु, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत, अन्य कर्मचारीहरुको उपस्थितिमा मेयर मनोज कुमार आचार्य र उपमेयर रंजितादेवी चौधरीले संयुक्त रुपमा पुलको शिलान्यास गर्नुभएको हो ।
त्यहाँ पुल बन्ने भएपछि स्थानीय खुशि भएका छन् । उनीहरुले अब पुल नहँुदा आफूहरुले भोग्दै आएको सास्ती सधैंका लागि अन्त्य हुने बताएका छन् । स्थानीय मक्सुद अन्सारीले बालगंगा खोलामा पुल नहुँदा चौखिका र भक्तिपुरवासीले धेरै नै दुःख पाएको बताउनुभयो । तर अब पुल बन्ने भएपछि त्यो दुःख सधैंका लागि अन्त्य हुने बताउनुभयो । बालगंगा खोलामा पुल नहुँदा बर्खाको समयमा आफूले पनि धेरैपटक विद्यालय जान नपाएको सम्झनुहुँदै स्थानीय अन्सारीले पुल नहुँदा सुत्केरी महिला र अन्य विरामीलाई स्वास्थ्य संस्थामा पु¥याउन समेत समस्या हुने गरेको बताउनुभयो ।
अर्का स्थानीय एवम् नेपाली काँग्रेस ईश्वरपुर १ का वडा सभापति समेत रहनुभएका ओम प्रकाश श्रेष्ठले बालगंगा खोलका कारण २०१२ सालदेखि नै चौलिखा र भक्तिपुरवासीले दुःख भोग्दै आएको बताउनुभयो । उहाँले अघिल्ला जनप्रतिनिधिहरुलाई त्यहाँ पुल बनाउन पटक पटक आग्रह गर्दा हुन्छ हुन्छ मात्रै भन्ने गरेको तर काम नगरेको बताउनुभयो । उहाँले नवनिर्वाचित मेयर मनोज आचार्यले मेयर पद सम्हालेदेखि नै विकासको काममा चासो देखाउनुभएको कारण नगरवासीमा निकै ठुलो उत्साह जागेको समेत बताउनुभयो ।
पुलको शिलान्यास पछि पत्रकारहरुसँग प्रतिक्रिया दिनुहुँदै मेयर मनोज कुमार आचार्यले आफूले चुनावअघि गरेको बाचा अनुरुप नै बालगंगा खोलामा पुल निर्माणको काम सुरु गरेको बताउनुभयो । उहाँले भन्नुभयो,‘मैले चुनावअघि नै यहाँ पुल बनाउँछु भनेर बाचा गरेको थिएँ । यहाँको समस्या यहाँका स्थानीयले मात्रै हैन म आफैले पनि भोग्दै आएको थिएँ । तर अब यहाँ २ महिना या तीन महिनाभित्र पुल बनि सक्छ र पुल नहुँदाको दुःख सधैंलाई अन्त्य हुन्छ ।’
उहाँले आफूले चौलिखा र भक्तिपुरवासीको समस्यालाई सम्बोधन गर्न चुनाव अघि नै यहाँ पुल बनाउने तयारी गरेको तर अघिल्ला जनप्रतिनिधिले असहयोग गरेको गुनासो गर्नुभयो । ‘मैले यहाँ पुल बनाउन धेरै पटक प्रयास गरेँ तर नगरपालिकाले सिफारिस गर्न मानेन ।’, उहाँले भन्नुभयो, ‘अहिले आफै मेयर भएर यो काम थालेको छु । मैले यहाँ पुल मात्रै हैन चौलिखामा प्रहरी चौकी स्थापना गर्न भवन निर्माणको प्रक्रिया पनि अघि बढाएको छु । नगरका अरु क्षेत्रमा पनि गर्न पर्ने काम थुप्रै छन् । नगरवासीको साथ र सहयोग लिएर क्रमशः सबै काम गर्दै जानेछु ।’
ईश्वरपुर नगरपालिकाका मेयर मनोज कुमार आचार्य मेयर हुनुअघि नै लोकप्रिय भईसक्नु भएको व्यक्ति हुनुहुन्छ । उहाँले कोरोना कालमा स्वास्थ्य क्षेत्रमा पु¥याउनुभएको योगदान ईश्वरपुरवासीले कहिल्यै भुल्न नसक्ने खालको छ ।