भाइरल पोष्ट, फुलजोर ।। ट्याक्टर दुर्घटनामा परी दिवंगत हुनुभएका नेकपा एमालेका तत्कालीन जिल्ला संयोजक स्वर्गीय विनोद घिमिरेको शनिवार सम्झना गरिएको छ । ईश्वरपुर नगरपालिका अन्तर्गत सागरनाथमा रहेको उहाँको स्मारकमा माल्यार्पणसहित उहाँप्रति श्रद्धाञ्जली अर्पण गर्दै उहाँको सम्झना गरिएको हो ।
स्वर्गिय घिमिरेको सम्झनामा नेकपा एमाले र एकीकृत समाजवादीले छुट्टा छुट्टै रुपमा कार्यक्रम गरेका छन् । शनिवार विहानै सागरनाथ स्थित स्वर्गिय घिमिरेको स्मारक स्थलमा भेला भएका एमालेका नेताहरुले स्वर्गिय घिमिरेको स्मारकमा माल्यार्पण गर्नुका साथै उहाँप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए ।
एमाले नेताहरु संविधानसभा सदस्य हरि उप्रेती, जिल्ला उपाध्यक्ष विदुर प्याकुरेल, प्रदेश कमिटि सदस्य राजकुमार उप्रेती, गणेश प्रसाईं, तारा पोखरेल, रेणुका कुमारी पौडेल, हरिवनकी उपमेयर हरिमाया घलान, लालबन्दीका मेयर प्रत्यासी गोविन्द महत, ईश्वरपुरका मेयर प्रत्यासी निवर्तमान मेयर मनोद कुमार देवकोटा नेताहरु केशव ढकाल, केशव ढुंगाना, शेख मेहबुब रेजा लगायतका नेताहरुले स्वर्गिय घिमिरेको स्मारकमा माल्यार्पण गर्दै उहाँप्रति श्रद्धाञ्जली अर्पण गरेका हुन् ।
त्यस्तै एकीकृत समाजवादीका नेताहरुले पनि स्वर्गिय घिमिरेप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । पार्टीका जिल्ला अध्यक्ष सुरेन्द्र लामाको नेतृत्वमा पुगेका नेता तथा कार्यकर्ताहरुले स्वर्गिय घिमिरेको स्मारकमा माल्यार्पण गर्दै श्रद्धाञ्जली अर्पण गरेका हुन् । कार्यक्रममा प्रदेश सांसद बेची लुंगेली, जिल्ला सचिव गोविन्द अधिकारी, प्रचार विभाग प्रमुख एवम् हरिवन नगरकमिटि अध्यक्ष चुडामणि वाग्ले, संगठन विभाग प्रमुख भरत कुमार कार्कीलगायतले स्वर्गिय घिमिरेप्रति श्रद्धासुमन अर्पण गरेका हुन् ।
को हुन् स्वर्गिय घिमिरे ? (छोटो जीवनी)
स्वर्गिय विनोद घिमिरे तत्कालीन नेकपा एमालेका जिल्ला संयोजक हुन् । वि.सं. २०१० सालमा पिता पाण्डवराज घिमिरे र माता खिलेश्वरी घिमिरेको दोश्रो पुत्रको रुपमा धनुषाको बटेश्वरमा जन्मिनु भएका उहाँ कलिलै उमेरमा वामपन्थी राजनीतिमा सक्रिय हुनु भएको थियो ।
२०३० सालदेखि मालेमा रहेर भूमिगत राजनीति गर्दागर्दै २०३३ सालमा उहाँ गिरफ्तारमा पर्नुभएको थियो । राजकाज अपराध अन्तर्गत ३ वर्ष जेल जीवन व्यतिथ गर्नुभएका स्वर्गिय घिमिरे २०३७ सालको आममाफीबाट जेलमुक्त हुनुभएको थियो ।
त्यसपछि उहाँ स्वदेश र प्रवासमा समेत निरन्तर भूमिगत रही पार्टीको काममा लाग्नुभयो । उहाँ २०४६ सालको आन्दोलन पश्चात नेकपा एमालेको जिल्ला प्रमुख हुनुभयो ।
पार्टीको जिल्ला प्रमुखको हैसियतमा कार्यरत रहेकै अवस्थामा उहाँको २०५० साल जेठ १४ गते सागरनाथ चोकमा ट्याक्टर दुर्घटनामा परि निधन भएको थियो ।