भाइरल पोष्ट, ईश्वरपुर
सर्लाहीको ईश्वरपुर नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख मेयर मनोज कुमार आचार्यले चुनावमा गरेको बाचा पुरा गर्नुहुने भएको छ । मेयर आचार्यले ईश्वरपुर नगरपालिकामा खेलकुदको विकास गर्न रंगशाला निर्माण गर्ने घोषणा गर्नुभएको छ ।
एक कार्यक्रमका बिच मेयर आचार्यले अबको समय स्थानीय तह निर्वाचनमा आफुले दिएको नारा तथा घोषणा पत्र कार्यन्वयन गर्ने भएको भन्नुहुँदै खेलप्रेमी युवाहरुको लागि रंगशाला निर्माण गर्ने बताउनुभयो । यसैगरी मेयर आचार्यले ज्येष्ठ नागरिकहरुको उपचारका लागि निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने समेत घोषणा गर्नुभएको छ ।
शुक्रबार पदभार ग्रहण गर्नुहुँदै मेयर आचार्यले आफूले मेयर कार्यकालभरी सरकारी सेवा सुविधा नलिने र सेवासुविधा वापतको रकमबाट गरीब, असहाय र बृद्धवृद्धाको सेवामा खर्च गर्ने महत्वपूर्ण घोषणा गर्नुभएको छ ।
आफू पदमा नरहदा कोरोना कालमा समेत स्वास्थ्यको क्षेत्रमा निकै सराहनीय काम गरी जनताको सेवा गर्नुभएका मेयर आचार्यले मेयर भईसकेपछि पनि कृषक, वृद्धवृद्धा, अपाङ्ग, दलित र विपन्न नागरीकलाई आफूले सकेजति सुविधा प्रदान गर्ने बताउनुभएको छ । उहाँले विपन्न बालबालिकाको लागि त आफू अभिभावक नै बनिदिने पनि घोषणा गर्नुभएको छ ।
त्यस्तै मेयर आचार्यले ईश्वरपुर नगरपालिका ६ बयलवासमा निर्माण भएको १५ बेडको अस्पताल तत्काल सञ्चालनमा ल्याउने निर्णय गर्नुभएको छ । भवन निर्माण सम्पन्न भएर पनि अलपत्र अवस्थामा रहेको अस्पताल भवनको उहाँले शुक्रबार नै उद्घाटन गर्नुभएको छ ।
‘मेरो उमेदवारी विकास र समृद्धी विरोधी, अधिनायक प्रवृती विरुद्ध थियो’, मेयर आचार्यले भन्नुभयो, ‘ईश्वरपुरवासीले मलाई जिताएर ठुलो गुण लगाउनुभएको छ । नगरबासीलाई कहिल्यै पनि निरास हुन दिने छैन ।’
आफू दुःखि र असायको पक्षमा सधैं लड्ने प्रतिवद्धता गर्नुहुँदै मेयर आचार्यले भग्नावशेष अवस्थामा रहेको बयलवास बजारका भवनहरुलाई उचित व्यवस्थापन गरी बजारलाई सिंगार्ने बचनबद्धता व्यक्त गर्नुभएको छ ।
पदभार ग्रहण लगतै मेयर आचार्यले गर्नुभएको घोषणालाई लिएर अहिले ईश्वरपुरमा ब्यापक चर्चा भइरहेको छ । उहाँको घोषणाले नगरवासीमा बेग्लै उत्साह जागेको स्थानिय समाजसेवी युवा नाथुराम चौधरीले बताउनुभयो ।
चौधरी भन्नुहुँछ, ‘मेयर आचार्य पदमा नहुदाँ त टुहुरा बालबालिका, बिपन्न बालबालिका, स्वास्थ्य क्षेत्र, बेरोजगार यूवाका लागि सिप मुलक तालिममा लगानी गर्नुभएको थियो । अब त पदमा गएपछि ईश्वरपुरमा विकासको मुलै फुटने हामीले विश्वास गरेका छौं ।’