भाइरल पोष्ट, कटारी ।। उदयपुरको कटारी नगरपालिकाको मेयरमा काँग्रेसका यूवा नेता राजेशचन्द्र श्रेष्ठ बिजयी हुनुभएको छ । नेपाली काँग्रेस उदयपुरका जिल्ला सचिव समेत रहनुभएका श्रेष्ठ ६ हजार ४१७ मतसहित मेयरमा विजयी हुनुभएको हो ।
उहाँका निकटतम प्रतिद्वन्दी स्वतन्त्र उमेदवार केपी बरालले ५ हजार ९५२ मतसहित पछ्याउनु भएको थियो । तर जित्न भने सक्नुभएन । कटारीमा मतगणनाको सुरुमा एमालेका मेयर उमेदवार निवर्तमान मेयर ज्ञानेन्द्र श्रेष्ठले लिड गर्नुभएको थियो तर उहाँले अग्रता कायम राख्न सक्नुभएन ।
मतगणनाको अन्तिमतिर उहाँ स्वतन्त्र उमेदवार केपी बरालभन्दा पनि पछि पर्नुभयो । उहाँ ५ हजार ७१५ मतसहित तेश्रो हुनुभयो भने भूमिअभियन्ता बालकृष्ण थापा २ हजार १५४ मतसहित चौथो हुनुभयो ।
त्यस्तै पार्टीले टिकट नदिएपछि स्वतन्त्रबाट मेयर उमेदवार बन्नुभएकी एमाले नेतृ निवर्तमान उपमेयर भिम कुमारी राउतले भने लज्जास्पद हार व्यहोर्नुभएको छ । उहाँले जम्मा ४४२ मत मात्रै पाउनुभएको छ ।
मेयरमा काँग्रेसले जितेपनि कटारीमा उपमेयर भने एमालेले जितेको छ । एमालेकी गीता खड्का ६ हजार ४१३ मतसहित उपमेयरमा विजयी हुनुभएको हो । उहाँको निकटतम प्रतिद्वन्दी माओवादीका विनोद कटुवालले ३ हजार ८२१ मत प्राप्त गर्नुभयो । कटुवाल माओवादीको उदयपुर जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । त्यस्तै माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीका हृदय बहादुर तामाङ्ग ३ हजार ७२३ मतमै खुम्चिनु भएको छ भने पार्टीले टिकट नदिएपछि स्वतन्त्रबाट उपमेयर लड्नु भएका काँग्रेस नेता कृष्ण थापाले ३ हजार ३४६ मत प्राप्त गरी चौथो हुनु भएको छ ।
कटारीमा नेपाली काँग्रेस र नेकपा माओवादीले मेयर उपमेयरमा चुनावी तालमेल गरेका थिए । जसअनुसार काँग्रेसको भागमा मेयर परेको थियो भने माओवादीले उपमेयर रोजेको थियो । काँग्रेससँग गठबन्धन गरेपनि माओवादीका उमेदवार कटुवालले भने उपमेयरमा जित्न सक्नुभएन ।
कुन वडा कस्ले जित्यो ?
कटारीमा काँग्रेसले मेयरसहित ३ ओटा वडामा जितेको छ । वडा नम्बर २ मा प्रेमबहादुर थापा, ३ मा पुस्कर खड्का र ७ मा सुविन ढुंगाना विजयी हुनुभएको छ । २ का थापा निवर्तमान वडाअध्यक्ष हुनुहुन्छ भने ३ का खड्का उद्योग वाणिज्य संघ उदयपुरका अध्यक्ष हुनुहुन्छ ।
त्यस्तै कटारीमा एमालेले उपमेयरसहित ७ ओटा वडा जितेको छ । वडा नम्बर १ मा पदम लामा, ५ मा मोहन लामा, १० मा क्षेत्र बहादुर खड्का, ११ मा अनन्त हायू, १३ मा शम्भु श्रेष्ठ र १४ मा अम्बर बहादुर मगर विजयी हुनुभएको छ । त्यसैगरी माओवादी केन्द्रले १२ नम्बर वडामा जितेको छ । माओवादी केन्द्रका यम्बर बहादुर कटुवाल वडाअध्यक्षमा विजयी हुनुभएको छ । त्यस्तै माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीले वडा नम्बर ९ मा मात्रै जितेको छ । निवर्तमान वडाअध्यक्ष समेत रहनुभएका वेग बहादुर आले मगर वडा नम्बर ९ मा एकीकृत समाजवादीबाट विजयी हुनुभएको हो ।
कटारी १४ ओटा वडामध्ये २ ओटा वडामा स्वतन्त्र उमेदवारहरु विजयी हुनुभएको छ । वडा नम्बर ८ मा नबीन कुमार तामाङ्ग र वडा नम्बर ४ मा भूपेन्द्र सिंह तामाङ्ग स्वतन्त्रबाट विजयी हुनुभएको हो ।
को हुन् कटारीका मेयर राजेशचन्द्र श्रेष्ठ
कटारी नगरपालिकाको मेयरमा निर्वाचित राजेशचन्द्र श्रेष्ठ नेपाली काँग्रसका यूवा नेता हुनुहुन्छ । उहाँ पार्टीमा पनि शक्तिशाली मानिनुहुन्छ । उहाँ काँग्रेस उदयपुरको जिल्ला कोषाध्यक्ष हुँदै हाल जिल्ला सचिव हुनुहुन्छ ।
उहाँ कटारीको चर्चित व्यवसायी समेत हुनुहुन्छ । उहाँ उद्योग वाणिज्य संघ उदयपुरको अध्यक्ष समेत भईसक्नु भएको व्यक्ति हुनुहुन्छ ।
के के छन् प्रतिवद्धता
नविनिर्वाचित मेयर राजेशचन्द्र श्रेष्ठले चुनाव अघि नै मेयर जितेपछि तलबी सेवा नलिने घोषणा गरिसक्नु भएको छ । उहाँले आफूले राज्यबाट पाउने तलब कोषमा जम्मा गरी गरीब दिन दुखिहरुको सेवामा खर्च गर्ने बताउनुभएको छ ।
उहाँले राजनीतिलाई पेशा भन्दा पनि सेवाको रुपमा लिएकोले जनताको सेवामै आफू लाग्ने बताउनुभएको छ । उहाँले कटारीवासीलाई सुखि र सम्पन्न बनाउने आफ्नो प्रमुख उदेश्य भएको बताउनुभएको छ ।
उहाँले स्थानीय उत्पादनको बजारीकरण, ऐतिहासिक तथा धार्मिक सम्पदाहरुको सौन्दर्यीकरण, युवालाई रोजगारी, किसानलाई सिँचाई तथा मल, गरीबलाई गाँस, वास र कपास नै अहिलेको प्रमुख आवश्यकता भएकोले आफू जनचाहना अनुसार नै काममा तल्लीन हुने बताउनुभएको छ ।
उहाँले स्वस्थ्य, शिक्षा, सडक, बिजुली, खानेपानीको समान वितरणलाई प्राथमिकतामा राखेर आफूले काम गर्ने बताउनुभएको छ ।