भाइरल पोष्ट, लालबन्दी ।। लालबन्दी नगरपालिकाका मेयर बासुदेव अधिकारीले पदभार ग्रहण गरे लगतै विभिन्न ४ वटा निर्णय गरेका छन् ।
केही महिनाअघि मात्रै सरेको वडा नम्बर ८ स्थित नयाँ नगरपालिका भवनमा पुगेर पदभार ग्रहण गर्दै नगरप्रमुख मेयर अधिकारीले स्वास्थ्य र शिक्षासँग सम्वन्धित ४ वटा महत्वपूर्ण निर्णय गरेका हुन् । अधिकारीले नगरभित्रका स्वास्थ्य चौकी तथा स्वास्थ्य केन्द्रमा सुत्केरी हुने महिलालाई संघीय सरकारले दिने बाहेक ५ हजार खर्च दिने व्यवस्था मिलाउने पहिलो निर्णय गरेका हुन् ।
उनका अनुसार सो खर्च पाउने सुत्केरी महिला नगरभित्रकै हुनुपर्ने छ । नेपाल सरकारले अहिले स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलालाई यातायात खर्चबापत एक हजार रुपैयाँ उपलब्ध गराउँदै आएको छ ।
अब लालबन्दी नगरभित्रका महिलाले स्वास्थ्य संस्थामा गएर सुत्केरी भए नगरले दिने पाँच हजार र संघीय सरकारले दिने एक हजारसहित ६ हजार पाउने छन् ।
यस्तै, नवनिर्वाचित नगरप्रमुख अधिकारीले लालबन्दीस्थित प्राथमिक स्वास्थ्य डुमडुमेमा २४सैं घण्टा सेवा सञ्चालन गरी आकस्मिक सेवा प्रवाह गर्न आवश्यक पूर्वाधारसहित एमडी डाक्टरको व्यवस्था गर्न पहल गर्ने अर्को निर्णय गरेका छन् ।
त्यसैगरी, उनले नगरभित्रका अत्यन्त न्यून आयस्रोत भएका परिवारको लगत संकलन गरी ती परिवारका बालबालिकालाई माध्यमिक तहसम्मको शिक्षा पूर्णतः निःशुल्क गर्ने र प्रत्येक सामुदायिक तथा संस्थागत विद्यालयहरुको नियमित अनुगमन सुपरीवेक्षणको व्यवस्था तत्काल सुरु गर्ने निर्णय पनि गरेका छन् ।
त्यसैगरी, नगरप्रमुख अधिकारीले शिक्षालाई प्रोत्साहन गर्नका लागि लालबन्दी नगरपालिकाभित्रका १७ वटै वडामा गरिव तथा विपन्न र जेहेन्दारबाट २÷२ जना छात्रछात्रालाई माध्यमिक तहसम्मको छात्रावृत्तिको प्रवन्ध गर्ने निर्णय गरेका छन् । त्यसतै नगरको एक मात्रै स्नातककोत्तर अध्ययन अध्यापन हुने जनज्योति बहुमुखी क्याम्पसमा उच्च शिक्षाका लागि प्रत्येक वडाबाट विपन्न र जेहेन्दार २÷२ जना छात्रछात्रालाई निःशुल्क अध्ययन गर्ने वातावरण मिलाउने निर्णय समेत गरेका छन् ।
नगरप्रमुख अधिकारीले सदरमुकाम मलंगवामा जिल्ला न्यायाधीशबाट सपथ ग्रहण गरेर आएपश्चात नगरपालिका भवनमा पुगेर पदभार ग्रहण गरेका हुन् । त्यसअघि उनले नगरउपप्रमुख कल्पना पाख्रिनसहित १७ ओटै वडाका वडा अध्यक्ष तथा सदस्यहरुलाई सपथ ग्रहण गराएका थिए ।