भाइरल पोष्ट, लालबन्दी ।। सर्लाहीको लालबन्दीमा नव निर्वाचित उपमेयरसहितका जनप्रतिनिधिहरुले आज सपथ खाएका छन् । नगर प्रमुख मेयर बासुदेव अधिकारीले उपमेयर कल्पना पाख्रिनसहित १७ ओटै वडामा निर्वाचित वडाअध्यक्ष तथा सदस्यहरुलाई सपथ खुवाउनु भएको हो ।
नगरप्रमुख अधिकारीकै अध्यक्षता तथा पूर्वमन्त्री एवम् संविधानसभा सदस्य शम्भुलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा लालबन्दी ६ स्थित नगरपालिकाको पूरानो भवनको सभाहलमा सथप ग्रहण कार्यक्रम गरिएको थियो ।
कार्यक्रममा स्वागत मन्तव्य राख्नुहुँदै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बासुदेव तिमल्सिनाले सबै निर्वाचित जनप्रतिनिहरुलाई बधाई तथा सफलताको शुभकामना दिनुहुँदै स्वागत गर्नुभएको थियो । उहाँले अवीर तथा खादा लगाई मेयर, उपमेयर, अतिथीहरु, वडा अध्यक्ष तथा सदस्यहरुलाई सम्मान गर्नुभएको थियो ।
त्यस्तै कार्यक्रममा बोल्नुहुँदै उपमेयर कल्पना पाख्रिनले लालबन्दीवासीले आफूलाई अमूल्य मत दिएर उपमेयर जस्तो गरिमाय पदमा आसिन गराएकोले यो गुण कहिल्यै नविर्सने बताउनुभयो । उहाँले कसैलाई काखा, कसैलाई पाखा नगरी आफूले पाएको जिम्मेवारी बहन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
सपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रमुख अतिथि एवम् पूर्वमन्त्री शम्भुलाल श्रेष्ठले लालबन्दीमा आफूहरुले सोचेको, रोजेको र छानेको जनप्रतिनिधि निर्वाचित भएकोले अपेक्षाकृत नगरको विकास हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले नवनिर्वाचित मेयर, उपमेयर, वडाअध्यक्ष तथा सदस्यहरुलाई बधाईसहित सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो ।
सपथ ग्रहण कार्यक्रमको समापनका क्रममा आफ्ना धाराणा राख्नुहुँदै नगरप्रमुख बासुदेव अधिकारीले विगतमा पनि आफूले गरेका सबैका सफल भएकोले नगरपालिकामा पनि सफल काम गरेर देखाउने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले चुनावका समयमा स्थानीय स्तरमा तयार गरिएको सबै पार्टिको घोषणा पत्र आफूले लिने र ती घोषणा पत्रमा भएका कामहरुलाई समेत प्राथमिकतामा राखिने बताउनुभयो ।
कार्यक्रममा उद्योग वाणिज्य संघ लालबन्दीका अध्यक्ष कल्याण कुमार जोशी, ईलाका प्रहरी कार्यालय लालबन्दीका प्रमुख प्रहरी निरीक्षक शान्ताराम कार्की, विभिन्न राजनितीक दलका प्रतिनिधि, नगरका कर्मचारी, नगरवासी, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।