भाइरल पोष्ट बरहथवा ।। केही महिनाअघि मात्रै दर्ता भएको बहुजन एकता पार्टी नेपालले सर्लाहीको बरहथवा नगरपालिकाको एउटा वडामा जितेको छ ।
वरहथवा नगरपालिकाको वडा नम्बर १० को वडाध्यक्षमा सो पार्टीकी दलित महिला वडा अध्यक्षमा निर्वाचित भएकी हुन् ।
वडाध्यक्षको उम्मेद्वार बनेकी ३२ वर्षीया शर्मिला कुमारी राम वडा अध्यक्षमा विजयी भएकी हुन् । निर्वाचित शर्मिलाले ६०६ मत ल्याउँदा निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका ५४ वर्षीय सत्यनारायण सिंहले ३३३ मत मात्र पाए । अघिल्लो स्थानीय तह निर्वाचनमा माओवादीका उम्मेद्वार रामजिनिस साहले ३२९ मत सहित वडाध्यक्षमा जीत हाँसिल गर्दा पनि कांग्रेसकै सिंह ७ मतले हार व्यहोरेर निकटतम् प्रतिद्वन्द्वी रहेका थिए ।
अघिल्लो चुनावमा कतै नदेखिएकी शर्मिलाले यो पटक, त्यो पनि बिलकुल नयाँ राजनैतिक दलबाट प्रत्यासी बन्दै आफूभन्दा निकै पाका उमेरका पूराना राजनीतिज्ञहरुलाई पछाडी पारेर वडाध्यक्षमा बाजी मारिन् ।
उनीसँगै माओवादीबाट प्रत्यासी रहेका ७३ वर्षीय रामजतन महतोले ३३१ मत मात्र पाए ।
वडाध्यक्षमा निर्वाचित शर्मिला केही समय पहिला जिल्ला प्रशासन कार्यालय मलंगवामा प्रशासकीय अधिकृत तथा हाल ईलाका प्रशासन कार्यालय बरहथवामा प्रमुखको जिम्मेवारीमा रहेका राम नरेश रामकी श्रीमति हुन् ।