सोम दियाली, हरिवन ।। सर्लाहीको हरिवन नगरपालिका र यहाँका मेयर उपमेयर साँच्चै नै लोकप्रिय थिए । मेयर गणेश प्रसाद प्रसाई, उपमेयर रेणुका कुमारी पौडेल, वडा अध्यक्षहरु सिताराम पोखरेल, शेख मेहबुब रेजासहित अन्य जनप्रतिनिधिहरुको जनताप्रतिको काम देखेर जिल्लावासी चकित बनेका थिए ।
त्यतिमात्रै हैन अमेरिकी विलासी जिवन त्यागेर जनताको सेवा गर्छु भनेर राजनीतिमा लागेको र हरिवनको मेयर भएपछि नगरपालिकालाई देशकै सात उत्कृष्ट नगरपालिका बनाउन निवर्तमान मेयर गणेश प्रसाईको भूमिका सम्मान योग्य छ । त्यस्तै उहाँसहित हरिवनका जनप्रतिनिधिको टिमले नगरपालिकामा साँच्चै नै राम्रो काम गरेका थिए ।
कोरोना महामारीको समयमा होस् या वाढी र डुवानको समयमा होस् जनताका कुनै पनि समस्यामा पछि नहटी काम गर्ने जनप्रतिनि नै हरिवनका मेयर उपमेयर र वडाअध्यक्ष तथा सदस्यहरु थिए ।
फेरी पनि मेयर जिते भने आउँदो ५० वर्ष हुने विकास ५ वर्षमै गरेर देखाउँछु भने सोच्नु भएका मेयर गणेश प्रसाई कारणवश चुनावमा विजयी हुन सक्नु भएन । उहाँ मेयरमा हार्नु भएपछि उहाँ भन्दा बढी उहाँका शुभचिन्तक र विकासप्रेमी हरिवनवासी बढी चिन्तित देखिएका थिए । उहाँलाई सामाजिक सञ्जाल मार्फत सान्तवना दिनेहरुको पनि ओइरो लागेको थियो ।
यसैक्रममा मेयरमा पराजित भएपछि पहिलो पटक निवर्तमान मेयर गणेश प्रसाद प्रसाईले आफूलाई मत दिने सम्पूर्ण मतदातालाई धन्यवाद दिनुभएको छ ।

शनिवार सामाजिक सञ्जालमा एक स्टाटस लेख्नुहुँदै निर्वतमान मेयर प्रसाईले हरिवन नगरलाई स्वच्छ, सुन्दर र समृद्ध आफ्नो प्रतिवद्धता अब हरिवनवासीको मागको रुपमा रहने समेत उद्घोष गर्नु भएको छ ।
उहाँ लेख्नु हुन्छ, ‘नेपाल कम्युनिष्ट पार्टी एमाले को तर्फबाट हरिवन नगरपालिकाको मेयरको उम्मेदवार भएर आएको मलाई आफ्नो अमूल्य मत प्रदान गर्नुहुने सम्पूर्ण हरिवन नगरबासी आमा, बुवा, दिदी, बहिनी तथा दाजु भाईहरुमा हार्दिक धन्यवाद, आभार तथा कृतज्ञता ब्यक्त गर्दछु । एक्लो नेकपा एमालेका उम्मेदवारहरुका बिरुद्ध अरु सबै शक्ति लागेको प्रतिकुल परिस्थितिमा पनि नर्कट जस्तो नलत्रिएर, भ्रमपूर्ण प्रचारमा न अल्मलिएर सतीसाल जस्तै दृढ भएर नेकपा एमालेको सू्र्य चिन्हमा मतदान गर्नुभएको छ ।’
उहाँ अगाडि लेख्नु हुन्छ, ‘हरिवन नगरलाई स्वच्छ, सुन्दर र समृद्ध बनाउने हाम्रा प्रतिबद्धताहरु अब हाम्रो मागको रुपमा अगाडी बढ्ने छ । हामी हिजो पनि जनताकै माझमा रहेर सेवा गरिरहेका थियौं । हामी निरन्तर यहांहरुकै सुख दुखमा साथ रहने प्रतिबद्धता ब्यक्त गर्दछौं । हरिवन नगरपालिकामा निर्वाचित मेयर, उपमेयर, वडा अध्यक्ष तथा सदस्य ज्युहरुमा हार्दिक बधाई तथा कार्यकाल सफलताको शुभकामना ब्यक्त गर्दछु ।
उहाँले प्राबिधिक हिसाबमा नेकपा एमाले झिनो १५३ मतले दोस्रो स्थानमा रहन पुगे पनि राजनैतिक हिसाबमा पहिलो बनेको दाबी समेत गर्नुभएको छ ।