भाइरल पोष्ट, पर्सा ।। सर्लाहीका एक युवाले विना दाइजो आदर्श विवाह गरेका छन् । जिल्लाको पर्सा गाउँपालिका ४ कविलासीका यूवा डाक्टर अनिल कुमार यादवले विना दाइजो विवाह गरेका हुन् ।
तराईमा दाइजो प्रथा व्याप्त छ । यहाँ विना दाइजो त विवाहको कल्पनै गर्न सकिँदैन । यस्तो बेला दाइजो विना विवाह गर्नु भनेको सिङ्गो समाजलाई नै चुनौती दिनु हो । डा. अनिलले पनि विना दाइजो आदर्श विवाह गरेर दाइजो प्रथालाई चुनौती दिएका छन् ।
डाक्टर अनिल भर्खरै एमविविएस सक्काएर बसेका युवा हुन् । उनी पर्सा गाउँपालिका ४ कविलासीका जमिन्दार सत्यनारायण यादवका छोरा हुन् । घरमा विवाहको कुरा चलेपछि विना दाइजो आदर्श विवाह गर्ने सहमतिमा मात्रै उनी विवाह गर्न राजी भएका थिए । उनले महोत्तरीको सोनमा गाउँपालिका ६ का संजय कुमार यादवकी छोरी आरती यादवसँग आदर्श विवाह गरेका हुन् ।
छोरा चाहाना अनुसार नै हामीले आदर्श विवाह गराएका हौं । हामीलाई लाउन खान नपुग्दो छैन । डा.अनिलका बुवा सत्यनारायण भन्छन्, ‘दाइजो प्रथाले हाम्रो समाजलाई कहिल्यै हित गर्दैन । त्यसैले पूरै समाज यसको विरुद्ध लाग्नै पर्छ ।’
दुलाहाका काकी जसपाकी केन्द्रीय सदस्य मिना यादव पनि यो आदर्श विवाहबाट आफूहरुले समाजलाई दाइजो प्रथा विरुद्ध एक जुट हुन शिक्षा दिन खोजेको बताउँछिन् । छोरीलाई दाइजो हैन उचित शिक्षा, दिक्षा दिनुपर्छ भन्दै उनले दाईजो प्रथाले कसैको हित नहुने बताईन् ।
बेहुली लिन हेलिकप्टर चाटर्ड
डा.अनिलले दुलही लिन जाँदा हेलिकप्टर चाटर्ड गरेर लगेका छन् । उनले बुवा आमाको चाहाना बमोजिम हेलिकप्टर चाटर्ड गर्नु परेको बताए ।
‘म विवाहमा फजुल खर्च गर्नु हुन्न भन्ने पक्षमा छु । दाइजो प्रथाको पनि विरोधी हुँ । त्यसैले मैले आदर्श विवाह रोजें ।’ उनी भन्छन्, ‘मेरो बुवा आमाको चाहाना थियो कि, मेरो छोराको विवाहमा हेलिकप्टर चाटर्ड गर्छु । मैले नकार्न सकिन ।’