भाइरल पोष्ट, मलंगवा ।। सर्लाहीमा वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनबाट निर्वाचित स्थानीय तहका प्रमुखहरुलाई सोमबार सपथ खुवाईने भएको छ ।
जिल्लाका ९ गाउँपालिका तथा ११ नगरपालिका गरी २० ओटै स्थानीय तहका नव निर्वाचित प्रमुखहरुलाई जिल्ला स्थित जिल्ला समन्वय समितिको सभाहलमा जिल्ला न्यायाधिश ध्रुव कुमार पियाले सपथ खुवाउन लाग्नु भएको हो ।
स्थानीय तह निर्वाचनबाट निर्वाचित गाउँपालिका अध्यक्ष र नगरपालिकाका प्रमुखले सम्बन्धित जिल्लाको जिल्ला न्यायाधीशसमक्ष सपथग्रहण गर्ने व्यवस्था अनुरुप नै उहाँहरुले जिल्ला न्यायधिश समक्ष सपथ खान लाग्नुभएको हो ।
व्यवस्थापिका–संसद्मा दर्ता भएको स्थानीय तहको शासन सञ्चालनसम्बन्धी विधेयकमा यस्तो व्यवस्था गरिएको छ । विधेयकअनुसार गाउँपालिकाका तथा नगरपालिकाका उपाध्यक्ष, वडाध्यक्ष, गाउँ/नगरसभाका सदस्यले सम्बन्धित गाउँपालिका अध्यक्ष र नगरपालिका प्रमुखसँग सपथग्रहण गर्नेछन् ।
त्यस्तै जिल्ला समन्वय समितिका प्रमुखले पनि जिल्ला न्यायाधीशसमक्ष नै सपथग्रहण गर्नुपर्नेछ व्यवस्था रहेको छ । जिल्ला समन्वय समितिको उपप्रमुख र सदस्यले जिल्ला समन्वय समितिको प्रमुखसमक्ष पद तथा गोपनीयताको सपथग्रहण गर्नुपर्ने व्यवस्था रहेको छ ।
निर्वाचित जनप्रतिनिधिहरुले पद धारण गरेको र प्रत्येक आर्थिक वर्ष समाप्त भएको मितिले ६० दिनभित्र आफ्नो सम्पत्ति विवरण बुझाउनुपर्ने व्यवस्था ऐनले गरेको छ । सम्पति विवरण स्थानीय तहले अभिलेख राखी ३० दिनभित्र प्रदेश सरकारसमक्ष पठाउनुपर्नेछ ।