सोम दियाली, लालबन्दी ।। चुनावी नतिजा सार्वजनिक भएसँगै सर्लाहीमा दलहरुले धमाधम विजय जुलुस मनाउन थालेका छन् । सुरुवा वडाको निर्वाचित जनप्रतिनिधिहरुले गर्दै आएको विजय जुलुस अन्तिम मत बाहिरीएसँगै पार्टीमै परिणत भएको छ ।

यसै क्रममा सर्लाहीको लालबन्दी नगरपालिकामा नेपाली काँग्रेसले विशाल विजय जुलुस गरेको छ । १७ ओटै वडाबाट लालबन्दी बजारमा भेला भएका काँग्रेस कार्यकर्ताले यो जीत कस्को जनताको, नेपाली काँग्रेस जिन्दावाद लगायतका नारा लगाउँदै विजय जुलुस मनाएको हो ।

नव निर्वाचित मेयर बासुदेव अधिकारी, उपमेयर कल्पना पाख्रिन, विभिन्न वडामा विजयी वडा अध्यक्ष तथा सदस्यहरुलाई फुलमाला अविरले भव्य स्वागत तथा सम्मान गर्दैै काँग्रेसले विजय जुलुस जीतको खुशि छरेको छ । पश्चिम जनज्योति क्याम्पसबाट जुलुस सुरु गरी पूर्व रानीगञ्ज सम्म जुलुस पुगेको थियो भने पुनः लालबन्दीमै आई जुलुस कोण सभामा परिणत भएको थियो ।

विजय जुलुसमा पूर्वमन्त्री शम्भुलाल श्रेष्ठसहित पार्टीका क्षेत्रीय सभापति हरि लुंगेली, महासमिति सदस्य प्रमोद बराल, नेता कुवेर आचार्य, प्रशान्त आचार्य, नारायण गुर्मछान लगायतका नेता कार्यकर्ता सहभागि थिए ।
जुलुसमा काँग्रेसको चुनावी गीतहरु घन्काइएको थियो भने महिला केटाकेटी, वृद्धवृद्धा सबैले नाचेर, कम्मर भाँचेर खुशि साटासाट गरेका थिए । विजय जुलुसकै क्रममा मेयर उपमेयरलाई खादा, माला, अविर लगाएर सम्मान गरिएको थियो ।
लालबन्दी २ स्थित पद्म भुवनेश्वरी वृद्धा आश्रमकी व्यवस्थापक एवम् काँग्रेस नेतृ भवानी कोइराला लगायत सर्वसाधारण सम्मले मेयर उपमेयरलाई फुलमाला अविरले स्वागत तथा सम्मान गर्दै बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।