सोम दियाली, सर्लाही ।। स्थानीय तहको चुनाव यस पटक लालबन्दीमा निकै रोमाञ्चक भएको थियो । उमेदवारी मनोनयनको दिनदेखि नै नेपाली काँग्रेसका नेता मेयर उमेदवार बासुदेव अधिकारी चर्चामा आईरहे ।
उनी चर्चामा आउनुको कारण थियो पार्टीले उनको उमेदवारी फिर्ता गराउन खोज्नु । केन्द्रमा भएको चुनावी तालमेल अनुसार लालबन्दीमा माओवादीका प्रह्लाद बुढाथोकीलाई समर्थन गर्ने निर्णय गर्दै काँग्रेस सभापति शेर बहादुर देउवाले अधिकारीको उमेदवारी फिर्ता गर्न पत्र पठाए । तर अन्तिम नामावली प्रकाशन गर्ने दिन ढिला गरेर देउवाको पत्र आएपछि अधिकारीको उमेदवारी रद्ध भएन ।
उमेदवारी फिर्ता सम्बन्धको देउवाको पत्रले यहाँका काँग्रेसीजनमा आक्रोश भरियो । बासुदेव अधिकारीको उमेदवारी फिर्ता हुन नहुने भन्दै उनीहरुले निर्वाचन अधिकृतको कार्यालयमा नाराबाजी समेत गरे । केही दिनको लागि उनको उमेदवारी जोगियो । उनी चुनाव चिन्ह रुख लिएर चुनावी प्रचार प्रसारमा तिब्र रुपमा अघि बढे ।
अधिकारीले चुनाव जित्नुका कारणहरु
१.उनी निस्कलंक र स्वच्छ छवि भएका नेता हुनु ।
२.उनले विगतमा गरेका सामाजिक कामहरु समेत सफल हुनु ।
३.काँग्रेसका पाका र अब्बल नेता हुनु ।
४.पार्टीले उमेदवारी फिर्ता गर्न खोजेर काँग्रेसीजन एक ढिक्का भएर उनलाई साथ दिनु ।
५.एमालेको गढ मानिएको यहाँ एमालेमा समेत टिकट खोसाखोस हुनु ।
६.एमाले फुटेर दुई टुक्रा हुनु ।
७.अघिल्ला जनप्रतिनिधिको कामबाट यहाँका बासिन्दा दिक्क हुनु ।
उनको समर्थनमा लालबन्दीका काँग्रेस एक भएका थिए । उनी पनि पार्टीले जे भने पनि कुनै पनि हालतमा उमेदवारी फिर्ता नलिने पक्षमा थिए । बरु कार्वाही भोग्न तयार भएर बसे ।
फेरी पनि देउवाले अर्को पत्र पठाए अधिकारीको उमेदवारी फिर्ता लिन र माओवादीका उमेदवारलाई समर्थन गर्न आग्रहसहितको तर पनि अधिकारीले उमेदवारी फिर्ता लिएनन् बरु अझै चुनावी प्रचारलाई तीब्र बनाए ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लालबन्दीको एक चुनावी सभालाई सम्बोधन गर्दै केन्द्रमा भएको सहमति अनुसार लालबन्दीका काँग्रेसले प्रह्लाद बुढाथोकीलाई भोट हाल्नु पर्ने बोलेर गए । तर पनि यहाँका काँग्रेस टसमस समेत भएनन् ।
चितवनमा पार्टीको निर्णय नमानेको भन्दै मेयर उमेदवार जगन्नाथ पौडेललाई काँग्रेसले कार्वाही गरेको थियो । सोही प्रक्रिया लालबन्दीमा पनि हुने धेरैले अनुमान गरेका थिए । र अब बासुदेव अधिकारीलाई काँग्रेसले कार्वाही गर्छ र उनको पछि लाग्ने काँग्रेसी जति सबै कार्वाहीमा पर्छन् भनेर भ्रम समेत फिजाईयो तर पनि अधिकारी र यहाँका काँग्रेस कति पनि भ्रमित भएनन् । बरु कार्वाही भोग्न तयार तर बासुदेव अधिकारीलाई जसरी नि जिताउने निर्णयमा काँग्रेसीजन थिए ।
बासुदेव अधिकारी वास्तवमै जित्ने उमेदवार थिए । कुनै कलंक नलागेका व्यक्ति उमेदवार भएपछि विपक्षीले पनि उनलाई नै मत हाल्ने निश्चित नै थियो । उनले तेश्रो साना शहरी खानेपानी आयोजना अन्तरगतको लालबन्दी खानेपानी तथा सरसफाई संस्थामा अध्यक्ष भएर लालबन्दीवासीको मत जितेका थिए । त्यति मात्रै हैन उनी लालबन्दी स्थित जनज्योती क्याम्पस व्यवस्थापन समितिको अध्यक्ष हुँदा होस् या पूर्व गाविस अध्यक्ष हुँदा होस् उनको नराम्रो कतै सुनिएन ।
तर पनि गठबन्धनको नाममा उनको उमेदवारी धरापमा परेको जस्तो देखिन्थ्यो । जित्दा पार्टीले सदर गर्ने हार्दा कार्वाही भोग्नु पर्ने स्थिति यहाँ बनेको थियो । अधिकांश मानिसहरु यसै भन्थे कि बासुदेव जिते सबै जोगिन्छ, हारे सबै डुब्छन् । नभन्दै अधिकारीले भारी मतका साथ लालबन्दी नगरपालिकाको मेयरमा जितेर पार्टी र स्थानीय नेता कार्यकर्ताको नाक मात्रै राखेनन् आफू पनि ठुलो कार्वाहीबाट जोगिएका छन् ।
यता काँग्रेसले भोट देलान् भनेर मख्ख परेका गठबन्धनका उमेदवार भने जिल्ल परेका छन् । माओवादी केन्द्रका प्रह्लाद बुढाथोकी र एकीकृत समाजवादीका गोविन्द अधिकारी जिल्ल परेका हुन् । उनीहरुले मेयर उपमेयरमा गठबन्धन गरेका थिए । त्यसमा काँग्रेसलाई समावेश भने गरेका थिएनन् । तर केन्द्रीय निर्णय अनुसार भने मेयरमा माओवादी र उपमेयरमा समाजवादीलाई समर्थन गर्ने भनिएपनि यहाँका काँग्रेसले त्यो गरेनन् । चितवनमा जस्तै लालबन्दीमा काँग्रेसले सति नजाने अडान राखेपछि गठबन्धनका उमेदवार जिल भएका हुन् ।