सोम दियाली, सलाही ।। माओवादी केन्द्रबाट बलरा नगरपालिकाको मेयर जितेका रामाशंकर कुशवाहा एक कुशल हेडमास्टर हुन् । जिल्लाकै गोडैता नगरपालिका स्थित गोडैता मावि हेडमास्टर भएर ५ वर्ष काम गरेका रामाशंकर हेडसरले मात्रै चिनिँदैनथे । उनलाई मानिसहरुले चिन्ने अर्को परिचय हो उपमेयरका छोरा ।
उनको आमा रामसखिदेवी महतो बलरा नगरपालिकाकी उपमेयर हुन् । २०७४ सालमा भएको स्थानीय तह निर्वाचनमा आमाले उपमेयरमा जितेपछि रामाशंकरलाई उपमेयरको छोरा भनेर चिन्न थाले । उनको अर्को परिचय थपियो ।
उनी निजामति सेवामा पनि लागे । उनले निजामति सेवामा नाम निकाले तर जागीर भने शिक्षकमै खाईरहे ।

राजनीतिमा लागेर समाज परिवर्तन गर्छु भन्ने सोच रामाशंकरमा पहिलादेखि नै थियो । तर जागीरको कारण कुनै पनि पार्टीमा सक्रिय भएर लाग्न भने सकेनन् ।
जब नेपाल सरकारले स्थानीय तह निर्वाचनको मिति घोषणा ग¥यो तब त रामाशंकरलाई पनि मेयर बन्ने हुटहुटीले छोयो । उनकी आमा पनि झण्डै दुईमहिना अघि लोसपा छोडेर माओवादी पार्टीमा प्रवेश गरिन् । त्यही बेला रामाशंकर पनि आमासँगै माओवादी केन्द्रमा प्रवेश गरे ।
पार्टीले मेयरको टिकट दिने भएपछि उनले हेडमास्टरबाट राजीनामा दिए र चुनावी अभियानमा होमिए । बलरावासीले शिक्षित, सक्षम र नगर हाक्न सक्ने युवा नेतृत्व खोजिरहेको रामाशंकरलाई पनि महसुस भइरहेको थियो ।

बलरावासीको चाहाना आफूले मेयरमा जिते पूरा गर्न सक्ने दृढ संकल्पका साथ चुनाव लडेका रामाशंकर अन्ततः बलरा नगरपालिकामा ४ हजार ६४३ मतका ल्याएर विजयी भए । निकटतम प्रतिद्वन्दी निवर्तमान मेयर समेत रहेका लोसपा अभय कुमार सिंहलाई १ हजार १२ मतले पराजित गर्दै विजयी भएका हुन् । सिंहले भने ३ हजार ६३१ मत ल्याए पनि त्यो जीतका लागि पर्याप्त भएन ।