सोम दियाली, सर्लाही ।। सर्लाहीका २२ वर्षिय राजाबाबु यादव गाउँपालिकाको अध्यक्षमा जित्ने सम्भवतः नेपालकै कान्छा व्यक्ति हुन् ।
रामनगर गाउँपालिकाको अध्यक्षमा जित हासिल गरेपछि उनको चर्चा यतिबेला सर्लाहीसहित देशभर चुलिएको छ ।
नेकपा माओवादी केन्द्रबाट गाउँपालिका अध्यक्षमा जितेका राजाबाबु आफ्नै काका हरिनन्दन प्रसाद यादवलाई पराजित गर्दै विजयी बने । उनले अध्यक्षमा ४ हजार ८१ मत ल्याउँदा उनका काका नेपाली काँग्रेसका हरिनन्दनले ३ हजार ३ सय ३९ मत मात्रै ल्याए । राजाबाबु र उनको काकाको मतान्तर १ हजार ७४२ छ ।
२२ वर्षकै कलिलो उमेरमा गाउँपालिकाको अध्यक्ष जित्दा निकै नै खुशि लागेको राजाबाबुले बताए । उनले गाउँमा विकासको दुरावस्था देखेर अध्यक्ष बनेर विसका गर्ने सोच जागेको बताए । अध्यक्षमा लड्ने आफ्नो सोचमा साथीहरुले हौसला दिएर थप जगाएको बताए । ‘‘म भर्खर विविएस सकेर बसेको थिएँ । पढाई सकेपछि घर आएँ । यहाँ चुनावको माहोल तातिरहेको थियो । गाउँ आएपछि साथीभाईसँग चुनावको कुरा चल्यो, साथीभाईले तँ उठ अब अध्यक्षमा भनेपछि मलाई पनि साँच्चै नै अध्यक्ष लड्छु भन्ने सोच आयो ।’’ राजाबाबुले भने, ‘‘त्यसपछि मैले बुवालाई म गाउँपालिका अध्यक्षमा लड्छु भनेँ । सुरुमा त बुबाले मान्नु भएन । तँ पढ्दैछस् अहिले चुनाव लड्नु पर्दैन भन्नुभयो । तर मैले धेरै नै जिद्दी गरेपछि बुवा मान्नु भयो र मलाई नै टिकट मिलाई दिनुभयो ।’’

उनले कलिलै उमेरमा गाउँपालिकाको जिम्मेवारी आफूलाई सुम्पेको भन्दै रामनगरवासीलाई धन्यवाद दिए । ‘‘साथीहरुको उक्साहटमा लागेर चुनाव लडेपनि जित्छु भन्ने चैं मलाई पूरा विश्वास थियो । अहिले देशैभर नेतृत्वमा यूवा आउनुपर्छ भन्ने माग भइरहेको बेला मैले पनि आफूलाई गाउँपालिकाकै अध्यक्षमा उभ्याएँको हुँ । मलाई पार्टीले पनि विश्वास गरेर टिकट दियो । टिकट पाएपनि रामनगरवासीले भोट नदिनु भएको भए शायद म जित्न सक्दैनथेँ ।’’ उनले अगाडि भने, ‘‘अब म गाउँलाई नमूना बनाएर यूवाले पनि गर्न सक्छन् भन्ने उदाहरण बनेर देखाउँछु । किनकी यहाँ गर्नुपर्ने कामहरु धेरै नै छन् ।’’ उनले गाउँपालिकाको कामसँगसँगै पढाईलाई पनि निरन्तरता दिने बताएका छन् ।
छोराले गाउँपालिकाको अध्यक्षमा जितेपछि आफूलाई पनि निकै खुशि लागेको राजाबाबुका बुवा माओवादी नेता शिवपुजन रायले बताए । ‘‘म निकै खुशि छु, किनकी मेरो छोराले सानै उमेरमा गाउँपालिकाको अध्यक्षमा विजय हासिल गरेको छ ।’’ शिवपुजनले भने, ‘‘साथीहरुको कुरा सुनेर चुनाव लड्छु भन्यो, मैले पर्दैन पढाई सक्काउनु पर्छ भने तर उसले मानेन् । त्यसपछि पार्टीमा कुरा गरेर टिकट मिलाई दिए । र जित्यो पनि ।’’
उनले गएको ५ वर्षमा रामनगरमा केही पनि विकास नभएको बताए । ‘‘यहाँ अघिल्ला जनप्रतिनिधिले विकास गर्न नसकेको देखेर पनि मैले छोरोलाई अघि सारेको हुँ । पढेलेखेको छ, भिजन भएको केटो हो । काम गर्छ नै । राजनीतिमा त्यति अनुभवी नभएकोले गर्दै र सिक्दै जान्छ भन्ने मलाई विश्वास छ ।’’

‘‘राजाबाबु भनेको राजै हो, ऊ एकदम नरम र सरल स्वभावको छ । गाउँ र जनतालाई अत्यन्तै माया गर्ने, गाउँको विकासमा निकै चासो राख्ने भएकोले नै हामीले अध्यक्षमा उठ्न सुझाएका हौं ।,’’ राजाबाबुका साथी विजय यादवले भने । उनका अर्का साथी निरन्जन यादवले भन्छन्, ‘‘राजाबाबुको नराम्रो बानी भनेकै केही पनि छैन । ऊ कसैसँग झगडा गर्दैन, अरुमाथि शासन गर्नु पर्छ भन्ने शासकको सोच पनि ऊसँग छैन । ऊ एकदम मिलनसार छ । रामनगरवासीले राजाबाबु जस्तो ईमान्दार, विकासप्रेमी, मनकारी गाउँपालिका अध्यक्ष पाएको छ ।’’
राजाबाबुको स्वभाव
२०५७ सालमा बुबा शिवपुजन राय र आमा विनादेविको जेठो छोराको रुपमा जन्मिएका राजाबाबु अत्यन्तै सरल स्वभाव भएका व्यक्ति हुन् । साथीभाईसँग कसैसँग झगडा नगर्ने उनी गाउँमा पनि सबैका प्रिय थिए । गरीब दुःखि व्यक्तिहरुको दुःख उनी देख्नै सक्दैनन् ।
शिक्षा दिक्षा
राजाबाबुले विविएस सम्मको अध्ययन पूरा गरेका छन् । उनले सदरमुकाम मलंगवास्थित आरआर बोर्डिङबाट कक्षा सात सम्मको अध्ययन पूरा गरे । त्यसपछि उनले कक्षा ८, ९ र १० काठमाण्डौंको तिलंगास्थित सत्यसाई स्कुलबाट पूरा गरे । त्यसपछि उनले नयाँ बानेश्वर स्थित एपेक्स कलेजबाट विविएस सक्काएका छन् ।